समृद्ध राप्ती बनाउने हाम्राे याेजना छ : पाेख्रेल



स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न यही बैशाख ३० गते निर्वाचन हुँदैछ । यो निर्वाचनलाई लक्षित गरेर राजनीतिकदलहरुले प्रचार प्रसार अभियान थालिसकेका छन् । राप्ती गाउँपालिकामा अध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवारी दिएका जगत प्रसाद पाेख्रेलले निर्वाचित भएपछी आफ्नो कार्यकाल स्मरणीय बनाउने गरी जनताको सेवामा समर्पित हुने बताएका छन् । उनले राप्तीलाई समृद्ध बनाउने योजना सार्वजनिक गर्दै चुनवाी मैदानमा छन् ।

प्रश्नः चुनाव त आउनै आँट्यो ? प्रचार प्रसार कसरी भैरहेको छ ?

उत्तरः स्थानीय तह निर्वाचन लक्षित प्रचार प्रसार जारी छ । पहिलो चरणको घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ । फेरी दोस्रो चरणको घरदैलो अभियान गर्दैछौं । मतदाता संग भेट गर्ने, उहाँहरुका कुराहरु सुन्ने काम चलिरहेको छ । निर्वाचनले सबै क्षेत्रमा उत्साह थपेको छ । प्रचार अभियान पालिका तथा वडा केन्द्रित छन् । वडा कमिटिले वडाका सबै वस्तीमा प्रचार प्रसार गरिरहेको छ भने पालिका स्तरबाट पनि हामी वस्ती तहमा पुगिरहेका छौं ।

प्रश्नः चुनाव प्रचारमा जाँदा के एजेण्डा लगेर जानु भएको छ त ?

उत्तरः यो सुन्दर राप्ती गाउँपालिकालाई सबै क्षेत्रमा समृद्ध बनाउन चाहन्छौं । आधारभुत सेवा सुविधाको सहज वितरण र सेवा प्रदान गर्दै समृद्ध राप्तीको योजना निर्माण गरेर कार्यान्वयनमा लगिने छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र भएकाले पनि यस पालिकामा सञ्चालन हुने योजना महत्वपूर्ण र उपलब्धी मुलक हुने छन् ।

लुम्बनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले सम्पन्न गरेको गुरुयोजनालाई आधार मानेर हामीले पालिका तहबाट त्यस अनुरुप पालिका तहबाट सञ्चालन गरिने योजनाहरु अघि सार्ने छौं । विगतमा जस्तो समस्या राप्ती गाउँपालिका बासीले भोग्नुपर्ने छैन् । पालिकाले प्रदान गर्ने सेवा सुविधा चुस्त र छिटो छरीताको साथै आवश्यकतामा आधारित योजनाहरु तर्जुमा गरिने छ ।

हामीले यसपालीको निर्वाचनको सोच जनताको आर्थिक सवलताका लागि योजना वद्ध पुर्वाधार निर्माण÷उत्पादकत्वमा बृद्धि तथा सुशासन युक्त संस्थागत विकास गर्दै स्वीकृत गुरु योजना बमोजिमको नमुना प्रदेश राजधानी निर्माण गरी प्रभावकारी सेवा संचालन गराइ सुन्दर शहर स्थापनाको सोच विकास गराउदै राप्ति गाउँपालिका वासिको अव्वल पहिचान निर्माण गर्ने राखेका छौं । रणनीतिको रुपमा आम राप्ति गाउँपालिका सजग क्षमतावान र परिवर्तनका संवाहक आदर्णिय मतदाताहरु लाइ नेकपा एमालेको सुर्य चिन्हमा मतदान गराइ अत्याधिक मतले विजय गराइ स्थानीय सरकारको नेतृत्व प्राप्त गरी नीति तथा कार्यक्रम बमोजिम सरकार संचालन गर्ने पार्टिको संगठनात्मक प्रतिवद्धता हुनेछ भनेका छौं ।

लक्ष्य÷उदेश्यको रुपमा अविलम्व गुरु योजना बमोजिमको प्रदेश राजधानि निर्माण गरी नागरिक सेवा संचालनका लागि राजनैतीक तथा संस्थागत भूमिका निर्वाह गर्ने र सोही बमोजिमका पुर्वाधार निर्माणमा जोड दिने रहेको छ । यसैगरी गाउँपालिकाका सम्पुर्ण गरिखाने बर्गका लागि आर्थिक सामाजिक सवलताका लागि स्वरोजगार र उद्यमसिलताका कार्यक्रम संचालन गरी विद्यमान प्रति परिवार औषत आम्दानी बार्षिक रु.१,५४,२०० वाट वढाइ ५ बर्ष भित्र रु.२७५०००।– पु¥याउने रहेको छ ।

गाउँपालिकास्तरवाट प्रवाह हुने सेवा र नागरिक सहभागिता लाइ जनमैत्री तथा प्रविधियुक्त बनाइ सुशासन र पारदर्शिता कायम गरी स्थानीय सरकारले जनतामा सरकारको अनुभुति प्रदान गराउन कुल बजेटको ३५% आर्थिक विकास, ३०% पुर्वाधार विकास, २०% सामाजिक विकास र १५% बजेट संस्थागत सुशासन र विकासमा बजेट बिनियोजन गर्ने नीति अवलम्बन गरिनेछ ।

आर्थिक विकासको लागी ‘जनताको आर्थिक सवलता राप्ति गाउँपालिको अव्वलता’ भन्ने मुल नाराका साथ पालिका स्तरीय तरकारी, माछामासु, दुध र फलफुल उत्पादन बृद्धिकालागि एक वडा एक पकेट क्षेत्र निर्धारण गरी किसानसँग कृषि प्राविधिक कार्यक्रम लागु गराइ उत्पादनमा अनुदान कार्यक्रम संचालन गरिनेछ ।

सामाजिक विकास तर्फ राप्ति गाउँपालिकाका विपन्न घरपरिवारका लागि शिक्षा, स्वास्थ, विजुलि, खानेपानी पुर्णरुपमा निशुल्क बनाइ उनिहरुको आर्थिक जीवन स्तरमा सुधार गर्नुका साथै सामाजिक र राजनैतिक सहभागिता सुनिश्चित गरी आगामि ५ बर्षमा कम्तिमा ५० प्रतिशत घरपरिवारलाइ विपन्नताको रेखा बाट माथि उठाउने योजना छ ।

सिसहनिया र भालुवाङमा रहेका अस्पताल वाट प्रदान गर्ने स्वास्थ सेवा निःशुल्क गराइ विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्ने योजना बनाएका छौं । ‘स्वास्थ्य नै धन हो’ भन्ने मुल नाराका साथ सबै वडामा परिवार स्वास्थ्य चिकित्सक कार्यक्रम लागु गराइ स्वास्थ्य माफियाहरु लाइ निरुत्साहित गर्ने योजना छ ।

पुर्वाधार विकास तर्फ.राप्ति गाउँपालिका भित्रका पुर्व पश्चिम राजमार्ग संग जोडिने प्रमुख सबै सडकहरु ५ बर्ष भित्र क्रमश कालोपत्रे गरिनेछ साथै भित्रि प्रमुख सडकहरुमा जोडिने सबै सडकहरुको स्तरोन्नति गरी सबै वडाहरुमा सडक संजाल विस्तार गरिनेछ।पालिकाका सबै वडाहरुमा पुर्ण विद्युतिकरण गरी उज्यालो सफा र सुन्दर गाउँपालिका बनाउने संकल्प छ ।

पर्यटन तथा सास्कृतिक विकास तर्फ हामीले. आन्तरिक चुरे पर्यटनको विकास गरी युवा स्वरोजार अभिबृद्धिका लागि भालुवाङ– चन्द्रागिरी–माथिल्लो बगासोति–स्यानिगोस–देविकोट–करङ्गे– थकरीकोट हुदै सिङ्गे सम्मको पद मार्ग निर्माण गरिर्ने, धार्मिक तथा कला सांस्कृतिक पहिचान सहितको थारु÷मगर÷अन्य जातजातिहरुको ब्यवसायिक होमस्टे संचालन गर्ने राप्ति नदि सभ्यताको संरक्षण प्रर्बधन गर्दै राप्ति नदि पर्यटन विकास कार्यक्रम अन्तरगत चैते देखी बगरापुर सम्म नदि सयरकालागि बोटिङ÷राप्ति नदि तटिय क्षेत्रमा पार्क निर्माण गर्ने योजना महत्वका साथ उठाएका छौं ।

प्रश्नः तपाईका एजेण्डा त धेरै रहेछन् । तर, यि एजेण्डा चुनाव जीतेपछी कार्यान्वयनमा आउछन् त ?

उत्तरः मैले अघि सारेका कुराहरु मध्य धेरै कुराहरु छुटेका पनि छन् । हामीले चुनावी घोषणा पत्रमा धेरै बिषयहरु समेटेका छौं । यि बिषयहरु समेट्नको लागी मात्रै समेटिएको होइन, हामीले समेटेका बिषयहरु स्थानीय सरकारले कार्यान्वयन गर्न सक्ने बिषयहरु छन् । हामीले हाम्रो पालिकालाई सुन्दर बनाउनको लागी योजना बनाएका छौं । गर्न नसकिने भन्ने कुरानै छैन् । हामीले कार्यान्वयन गरेर देखाउछौं । त्यसकारणले हामीले यो बिषयहरुलाई प्राथमिकताका साथ समेटेका हौं ।

प्रश्नः तपाइएको चुनाव जीत्ने आधार के ?

उत्तरः चुनाव जीत्ने प्रमुख आधार भनेकै मतदाताको विश्वास हो । जुन विश्वास हामीले प्राप्त गर्दैछौं । लुम्बिनी प्रदेशको स्थायी राजधानी जसरी यहाँ आईपुगेका छ । यो राजधानीलाई व्यवस्थापन गर्ने जिम्मेवारी हामीहरुले लिन चाहन्छौं । सुन्दर राप्ती गाउँपालिका बनाउने चाहनाका साथ हामीले घोषणापत्र तयार पारेका छौं । सबै हिसावले मतदाताको विश्वासनै हाम्रो चुनाव जीत्ने आधार हो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे