१७ जिल्लामा निर्वाचन आयोगले खटायो केन्द्रीय अनुगमन टोली



१७ जिल्लामा निर्वाचन आयोगले खटायो केन्द्रीय अनुगमन टोली

काठमाण्डाै २५ बैशाख । पालिका चुनावका लागि निर्वाचन आयोगले १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ । तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षाको दृष्टिले संवेदनशील मानिएका जिल्लामा केन्द्रीय अनुगमन टोली खटाइएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको हो । टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, विश्वसनीयतालगायतका विषयमा अनुगमनको जिम्मेवारी पाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई दिइएको बताए । उहाँले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत चुनाव सम्पन्न गर्न कुनै पनि आग्रह—पूर्वाग्रह नराखि ऐन, कानुनबमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन समेत दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता विपरीत दल र उम्मेदवारले झण्डा, गाडी प्रयोग गरेमा, अनधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन पनि आग्रह गरे । उनले मतदान वा मतदानपछि हुने गणना बिथोल्ने प्रवृत्ति देखिएमा जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयलगायत निकायसँग समन्वय गरी सहजीकरण र समन्वय गर्न पनि टोलीलाई आग्रह गरे ।

सबै पालिकाका जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ गते सकिँदैछ । त्यसअगाडि नै मतगणना सक्ने गरी काम भइरहेको र आयोगका कारणले ढिलाइ नहुने पनि उहाँले स्पष्ट पारेका छन् । आयोगका आयुक्त एवम् केन्द्रीय अनुगमन समितिका संयोजक ईश्वरीप्रसाद पौड्यालले आयोगले ‘सानो तर स्मार्ट’ अनुगमन टोली खटाइएको बताए ।

कुनै दलले जित्ने वा हार्ने बहानामा गणना रोक्न नहुने र तोकिएको समयमा कुनै दल र उम्मेदवारका प्रतिनिधि बस्न नआए पनि गणना प्रक्रिया सुरु गराउन उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे