चुनावमा खट्न नमान्ने कर्मचारीलाई कानुन अनुसार कडा कारबाही गर्न आयोगको निर्देशन



चुनावमा खट्न नमान्ने कर्मचारीलाई कानुन अनुसार कडा कारबाही गर्न आयोगको निर्देशन

काठमाण्डाै २२ वैशाख । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने पालिका चुनावमा कर्मचारीले खटिन नमानेमा कानुनअनुसार कडा कारबाही गर्न निर्देशन दिएको छ । 

निर्वाचन आयोग ऐन २०७३ को दफा ७ मा आयोगले स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचनको कामका लागि कुनै पनि सरकारी वा संस्थानका कर्मचारीलाई सहयोग लिन सक्ने व्यवस्था रहेको छ भने दफा ४३ मा खटाइएको ठाउँमा जान नमानेमा जिम्मेवारीबाट हटाउन वा निलम्बनसम्मको सिफारिस गर्ने व्यवस्था छ । 
त्यही ऐनको दफा ४४ मा विभागीय कारबाही गर्न सकिने जनाइएको छ ।

स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदनशील कारण परेका अवस्थामा बाहेक खटाइएका कर्मचारीलाई फेरबदल नगर्न र माथिका कारण परेका अवस्थाबाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको हो ।

प्रचलित कानुनमा त्यसरी खटाउँदा पर्याप्त कारणविना नखटिने कर्मचारीलाई विभागीय र अन्य आवश्यक कारबाही गर्न सकिनेछ । 

साथै मतदानका लागि खटिएका सम्पूर्ण कर्मचारीलाई अनिवार्यरूपमा आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश गरेको छ । 

यसैबीच आयाेगले चुनावका लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ सम्पन्न भएको छ भने वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने जनाएको छ ।

यस्तै आयोगले अहिलेसम्म निर्वाचन आचारसंहिता २०७८ विपरीतको काम गर्ने ३७ राजनीतिक दल र व्यक्तिलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे