उम्मेदवार खारेज गर्न निर्वाचन आयोगलाई प्रधानमन्त्री देउवाको निर्देशन, लालबन्दीमा तनाव (पत्र सहित)



उम्मेदवार खारेज गर्न निर्वाचन आयोगलाई प्रधानमन्त्री देउवाको निर्देशन, लालबन्दीमा तनाव (पत्र सहित)

सर्लाही १६ वैशाख । सर्लाहीको लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालयमा खोलिएको निर्वाचन अधिकृतको कार्यालय अगाडि अहिले नेपाली कांग्रेसका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लालबन्दी नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार बासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको भनी शुक्रबार साँझ निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएपछि कांग्रेसका नेता कार्यकर्ता त्यसको विरोधमा नाराबाजीमा उत्रिएका हुन् ।

उनीहरुले निर्वाचन अधिकृतको कार्यालयबाट शुक्रबार साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भइसकेको र उम्मेदवारी फिर्ता लिने समय ५ बजेपछि देउवाले पठाएको सो पत्रलाई मान्यता नदिन माग गर्दै निर्वाचन अधिकृतको कार्यालय अगाडि पुगेर नाराबाजी गरिरहेका हुन् । लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले साँझ ५ बजेपछि प्रकाशित गरेको नामावलीमा कांग्रेसको मेयरका उम्मेदवार बासुदेव अधिकारीको नाम उल्लेख छ । देउवाले पत्र पठाएपनि अधिकारीको उम्मेदवारी कानुनतः फिर्ता हुने अवस्था छैन् । तर प्रधानमन्त्री देउवाले नै उम्मेदवारी फिर्ता भएको भन्दै पत्र पठाएपछि अन्योलता सिर्जना भएको छ ।

शुक्रबार साँझ मात्र लालबन्दीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी तालमेलको सहमति भएको छ । मेयरमा माओवादीले प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीले गोविन्द अधिकारीलाई अघि सारेको छ । कांग्रेसले यदि मेयरमा उम्मेदवारी फिर्ता लिएपनि उपमेयरमा के हुने भन्ने देउवाले पठाएको पत्रमा उल्लेख छैन । यस विषयमा पनि अन्योलता दिएको छ । अहिले बाहिर नाराबाजी भइरहँदा कांग्रेसका लालबन्दीमा उपलब्ध नेताहरुले भित्र निर्वाचन अधिकृत विनोद श्रेष्ठसँग छलफल गरिरहेका छन् ।

देउवाको पत्र ५ बजेपछि मात्रै आएको हो : जिल्ला निर्वाचन अधिकृत

जिल्ला निर्वाचन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिकामा मनोनयन फिर्ताको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्र ५ बजेपछि मात्रै आएको जानकारी गराएको छ ।

निर्वाचन आयोग स्रोतका अनुसार, सर्लाहीका जिल्ला निर्वाचन अधिकारीले पाँच बजेपछि पत्र आउँदैछ भनेकाले पत्र पुग्दा अझै ढिलो भएको भनी रिपोर्टिङ गरेका थिए । उनले मुख्य निर्वाचन अधिकृतलाई पनि त्यही व्यहोरावारे जानकारी गराएका थिए । सर्लाहीको मुख्य निर्वाचन अधिकृत मलंगवामा रहन्छन् । उनलाई अरु स्थानीय तहको सुपरिवेक्षणको मात्रै अधिकार छ ।

सर्लाहीको सबै स्थानीय तहको हकमा भने कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरयुक्त पत्रलाई नै आधिकारिक मान्ने भनी यसअघि नै अभिलेखमा रेकर्ड राखिएको निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले बताए ।

‘पत्रको आधिकारिकतामा शंका नै छैन’ उनले भने, ‘पाँच वजेपछि पत्र आयो, विवाद त्यही नै हो ।’ देउवाले लालबन्दी नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार बासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको भनी शुक्रबार साँझ ५ बजेपछि निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएका थिए ।

त्यतिबेलासम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको थियो ।

हेर्नुहोस् देउवाको पत्रः

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे