विद्युत महशुल नबुझाएको भन्दै तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटियो



विद्युत महशुल नबुझाएको भन्दै तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटियो

दाङ १३ वैशाख । दाङको स्मार्ट सिटीका रुपमा परिचित तुलसीपुर उपमहानगरपालिका विद्युत विहीन भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत महशुल नबुझाएको भन्दै उपमहानगरपालिकाको विद्युत लाईन काटेको छ । एक हप्ता पहिले नै विद्युत महशुल बुझाउँनको लागि तुलसीपुर उपमहानगरपालिकामा पत्राचार गरेको भए पनि त्यसको कुनै प्रतिउत्तर नआएपछि मंगलबार विद्युत काटिएको नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिए ।

अहिले तुलसीपुर उपमहानगरपालिकाको ४ महिनाको विद्युत महशुल बुझाउँन बाँकी छ । जरिमानासहित ४ महिनाको डेढलाख बढी महशुल बुझाउँन बाँकी रहेको प्रमुख फर्सालले बताए । कुनै पनि ग्राहकले रिडिङ गरेको ६० दिनसम्म विद्युत महशुल नबुझाएको खण्डमा बिना जानकारी उक्त ग्राहकको विद्युत काटिने प्राधिकरणको नियम अनुसार आफुहरुले तुलसीपुर उपमहनगरपालिकाको विद्युत लाईन काटेको उनको भनाई छ । उपमहानगरपालिकाले बक्यौता रकम नबुझाएसम्म वा यती दिनमा पैसा बुझाउँछौ भनी सहमती नगरेसम्म लाईन नजोडिने फर्सालको भनाई छ ।

त्यसैगरी उज्यालो तुलसीपुर बनाउने उद्देश्यले तुलसीपुरमा जोडिएको सड्क बत्तिको समेत उपमहानगरपालिकाले लामो समयसम्म महशुल बुझाएको छैन् । तुलसीपुरमा जडान गरको सडक बत्तिको मात्रै जरिमानासहित ९० लाख भन्दा बढी बक्यौता बुझाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ । यता तुलसीपुर उपमहानगरपालिकाले भने सड्क बत्ती र उपमहानगरपालिकाको विद्युत महशुल बुझाउँनका लागि केही प्रक्रिया पुरा नभएका कारण विद्युत महशुल बुझाउन समस्या भएको जनाएको छ ।

उमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेका अनुसार मेन सडकहरुमा राखिएको सडक बत्तीहरु संघीय सरकार र प्रदेश सरकारले हेर्ने र साना सड्कहरुमा जडान गरिएको बत्ति स्थानीय सरकारको मातहतमा रहेकाले महशुल बुझाउँन समस्या भएको हो । महशुल बुझाउनको लागि कागजी प्रक्रिया बनाई रहेको बेला विद्युत प्राधिकरणले लाईन काटेको भन्दै विद्युत जोड्नको लागि पहल भई रहेको न्यौपानेले बताए । विद्युत लाईन काटिए पछि अहिले उपमहानगरपालिकामा जेनेटरको सहायताले काम भईरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे