नेताका छोरी-छोरा, पत्नी र भाइ गठबन्धनका साझा उम्मेदवार
काठमाडौं १२ बैशाख । सत्तारुढ गठबन्धनलेस्थानीय तहको निर्वाचनमा छोरी, श्रीमती र छोरासहितका आफन्तलाई चुनाव जिताउनका लागि मात्रै गठबन्धन गरेको तथ्य खुलेको छ । ६ महानगरपालिकाको उम्मेदवारमा गठबन्धन गरेका सत्ता साझेदार दलरुहरुले तीन महानगरका तीन पदमा नेताका परिवारभित्रैबाट उम्मेदवार चयन गरेर यो भित्री तथ्यलाई उजागर गरेका हुन ।
सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवारी दिनुभएकी कांग्रेस नेता सिर्जना सिंह राजनीतिमा त्यति सक्रिय नाम होइन । २०४६ यता सक्रिय राजनीतिमा नरहनु भएकी सिंहले काठमाडौंजस्तो महत्वपूर्ण महानगरको मेयर पाउनुमा उहाँको श्रीमान समेत रहनुभएका कांग्रेस नेता प्रकाशमान सिंहको भूमिका रहेको छ ।
कांग्रेस नेताहरुका अनुसार पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका सिंह पराजित भएपछि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्नुभएको थियो । स्थानीय तह निर्वाचनका बेला देउवाले पार्टी महाधिवेशनमा सिंहले गरेको सहयोगको गुन तिर्दै पत्नी सिर्जनालाई मेयरको उम्मेदवार बनाउनु भएको हो ।
काठमाडौंमा नेताकी पत्नी उम्मेदवार बनेको गठबन्धनबाट चितवनमा छोरी उम्मेदवार बनेकी छन । कांग्रेसका जिल्लास्तरीय नेताहरुको विरोधका बाबजुद गठबन्धनका शीर्ष नेताको सहमतिबाट भरतपुर महानगरपलिकाको मेयरको उम्मेदवार रेनु दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुनुहुन्छ । प्रचण्डकै छोरी भएको कारण भरतपुरमा पुनः माओवादीलाई प्रमुख पद दिइएको हो ।
स्थानीय तहका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदा दुई मध्ये एक महिला हुनैपर्ने संवैधानिक मान्यतालाई समेत बेवास्ता गर्दै गठबन्धनका तर्फबाट विराटनगरमा दुबै पदमा पुरुष उम्मेदवार भएका छन् । तीमध्ये उपमेयरमा उम्मेदवारी दिएका अमरेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवका छोरा हुनुहुन्छ । यादवले लामो समयदेखि उपेन्द्र यादवकै सचिवालयमा बसेर काम गर्दै आउनु भएको छ ।
उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्रलाई उम्मेदवार बनाउनकै लागि विराटनगर आफैंले पाउनुपर्ने अडान गठबन्धनमा छोडनु भएको थिएन । भागवण्डामा विराटनगरको उपमेयर गठबन्धनका तर्फबाट जसपाको भागमा परेपछि अमरेन्द्रले नै पाउने निश्चितजस्तै भएको थियो ।
यही बुझेर यसअघि ०७४ को चुनावमा जसपाका तर्फबाट मेयरमा प्रतिस्पर्धा गरेका र तेस्रो लोकप्रिय मत ल्याएका उमेश यादवले तीन दिनअघिमात्रै पार्टी छोडनु भएको थियो । यादवले ०७४ को स्थानीय चुनावमा १४ हजार ९५८ मत ल्याएका थिए । उनले आइतबार नै स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका छन् ।
यस्तै गृहमन्त्री बालकृष्ण खाँणले पनि भाइलाई उम्मेदवार बनाउनु भएको छ । गृहमन्त्री खाँणले पनि गठबन्धनको फाइदा लिँदै सहोदर भाइ रामकृष्ण खाणलाई तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार बनाउनु भएको हो । यसअघि राष्ट्रिय जनमुक्ति पार्टीको सहयोग लिएर पनि मेयरमा हारेका खाणलाई यसपटक माओवादी,नेकपा एससहितको गठबन्धनबाट जिताउन खाँणले मौका दिएका हुन् ।
साभार : जनता टाइम्स