सत्ता गठबन्धनको हरिबिजोग, कार्यान्वयन भएन शीर्ष नेताका सहमति



सत्ता गठबन्धनको हरिबिजोग, कार्यान्वयन भएन शीर्ष नेताका सहमति

काठमाडौं १३ बैशाख । पाँच दलीय सत्ता गठबन्धनले केन्द्रबाटै सहमति गरेर देशभर तालमेल गर्ने निर्णय गरेपनि कार्यान्वयन गर्न असफल बनेका छन । गठबन्धन दलहरु महत्वपूर्ण स्थानमा समेत सहमति कायम राख्न असफल भएका हुन ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका उपेन्द्र यादव र जनमोर्चाका दुर्गा पौडेलले आफ्नो स्वार्थअनुसार केन्द्रबाटै तालमेल गर्ने निर्णय गरेका ६ वटा महानगर र ११ वटा उपमहानगरमा समेत अधिकांश ठाउँमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परेको छ । कतिपयमा ठाउँमा गठबन्धनभित्र पनि गठबन्धन बनेका छन भने कतिपय स्थानमा गठबन्धन बाहिरको प्रमुख दल एमालेसँगै तालमेल गरेर उम्मेदवारी दर्ता भएको छ ।

सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरमा गठबन्धनले साझा उम्मेदवार उठाउने सहमति गरेको थियो । सोहीअनुसार माओवादी केन्द्रबाट प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । तर, पहिल्यैदेखि नै असन्तुष्ट रहेको चितवन कांग्रेसका चर्चित नेता पूर्वसांसद जगन्नाथ पौडेलले पनि बागी उम्मेदवारी दर्ता गराउनु भएको छ ।

अर्को महत्वपूर्ण महानगर पोखरामा पनि बागी उम्मेदवारी परेको छ । गठबन्धन केन्द्रको निर्णयअनुसार पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको थियो । सोहीअनुसार प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराउनु भयो । उम्मेदवारी दर्ताको क्रममा आचार्यले कांग्रेस र माओवादी केन्द्रका नेताहरूलाई सँगै उभ्याएर आफू पार्टीको मात्रै नभई सिंगो गठबन्धनको उम्मेदवार भएको देखाउने प्रयास गरे पनि पोखरामा नेपाली कांग्रेसका तीन जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् । यस्तै बिराटनगरको उपमहानगरमा पनि माओवादीबाट बागी उम्मेदवारी परेको छ ।

गण्डकी प्रदेशको कास्कीमा मात्रै पोखरा बाहेकका पालिकामा गठबन्धनले साझा उम्मेदवारी दर्ता गर्न असफल बनेको छ ।
म्याग्दीका ६ वटा स्थानीय तहमध्ये दुईवटामा बाहेक तालमेल प्रयाश बिफल भएको छ । मुस्ताङका केही वडामा बाहेक कुनै पालिकामा पनि गठबन्धन कायम हुन नसकेको पाइएको छ । तनहुँका १० पालिकामध्ये ३ पालिकामात्रै गठबन्धन भएको छ ।

गठबन्धनबीच पूर्ण तालमेल मात्रै होइन, कतिपय पालिकामा गबठन्धनभित्रका दलहरूले अर्को गठबन्धन बनाएका छन । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा नै दलहरूले कतै एक्लाएक्लै त कतै त्यहीभित्रै उपगुट बनाएर उम्मेदवारी दर्ता गराएका छन । देउवाको गृहजिल्ला डडेल्धुरामा दुईवटा गाउँपालिकामा मात्रै माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेका छन । बाँकी पालिकामा गठबन्धनका दलहरूले ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन ।

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा तीनवटा पालिकामा तीनवटा दलले र एक–एक पालिकामा दुई–दुई वटाले तालमेल गरे । सुनर्या गाउँपालिका प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा माओवादीले उम्मेदवारी दिएका छन । पाटन नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएका छन । तर, यी दुईवटै पालिकामा तेस्रो दलले गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छैनन । परिणामतः सुनर्या गाउँपालिकामा कांग्रेसले र पाटन नगरपालिकामा एकीकृत समाजवादीले आ–आफ्ना उम्मेदवार उठाएका छन । बाँकी पाँचवटा पालिकामा भने गठबन्धनका सबै दलले ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका छन ।

दार्चुलामा गठबन्धनका दुई दल कांग्रेस र माओवादी केन्द्रले मात्रै तालमेल गरेका छन । एकीकृत समाजवादीले भने दुईवटा पालिकामा मात्रै एक्लै उम्मेदवारी दर्ता गराएको छ । कञ्चनपुरमा गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरे पनि कांग्रेसले सबै पालिकामा एकल उम्मेदवारी दिएको छ । माओवादी र एकीकृत समाजवादीले तालमेल गरेकै एउटा नगरपालिकामा पनि उपप्रमुख पदमै बागी उम्मेदवारी परेको छ ।

गठबन्धनभित्रको संकट प्रदेश १ र मधेश प्रदेशमा छरपस्ट देखिएको छ । प्रदेश १ का १४ वटा जिल्लामध्ये पाँच वटा जिल्लाका आंशिक पालिकामा मात्रै गठबन्धनबीच गुट र उपगुटसहित तालमेल भएको छ । झापाका १५ मध्ये १० वटा पालिकामा कांग्रेस र माओवादी केन्द्रले साझा उम्मेदवार उठाएका छन । मोरङमा केन्द्रबाटै निर्णय भएको विराटनगर महानगरबाहेक अन्यत्र दलहरू एकमत हुन सकेनन ।

बिराटनगरमा पनि उपमेयरमा माओवादी नेतृले बागी उम्मेदवार दर्ता गराउनु भएको छ । मिक्लाजुङ र लेटाङमा माओवादी र कांग्रेसबीच मात्रै र सुनबर्सी नगरपालिका र धनपालथान गाउँपालिकामा माओवादी र जनता समाजवादी पार्टी (जसपा) बीच छुट्टाछुट्टै गठबन्धन बनेको छ ।

सुनसरीका दुई उपमहानगर धरान र इटहरीबारे गठबन्धनको केन्द्रबाटै निर्णय भएको थियो । तर, जिल्लाका अन्य पालिकामा भने दलहरूले एकले अर्कोलाई अस्वीकार गरेका छन । खोटाङका १० पालिकामध्ये ६ वटामा कांग्रेस र माओवादी केन्द्रबीच मात्रै तालमेल भएको छ । समग्रमा प्रदेश १ का १३७ पालिकामध्ये अधिकांश पालिकामा गठबन्धनबीच सहमति नभएपछि ‘मित्रवत’ प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै मधेश प्रदेशमा केन्द्रबाटै सहमति गरिएका बाहेक स्थानमा दलहरू एक ठाउँमा नै उभिन सकेका छैनन । पर्साको वीरगञ्ज महानगर, धनुषाको जनकपुर उपमहानगर र बाराको जितपुर सिमरामा केन्द्रबाटै टुंग्याइएका थिए । सर्लाहीको लालबन्दी नगरपालिकामा गठबन्धन गर्ने सहमति भए पनि कार्यान्वयन गर्दा दलहरू एक्लाएक्लै उम्मेदवारी दर्ता गरेका छन । पर्साको पर्सागढी नगरपालिकामा भने दलहरूले संयुक्त उम्मेदवार उठाउन सफल भएका छन । यी बाहेक मधेसका अन्य पालिकामा सबैले एक्लाएक्लै उम्मेदवारी दिएका छन् ।

साभार : जनता टाइम्स

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे