स्थानीय तहमा एमालेको खाता खुल्यो, एक वडाध्यक्ष निर्बिरोध निर्वाचित
ताप्लेजुङ १२ बैशाख। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खाता खोलेको छ । पूर्वी पाहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्बिरोध भएसँगै एमालेले बिजयको खाता खोलेको हो ।
ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे बन्नुभएको छ । यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्बिरोध हुनुभएको छ । गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरे पनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै सर्वसम्मत गरिएको हो ।
वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार गाउँलेहरूले चयन गरेका उम्मेदवार बाहेक यस वडामा अरु कोही पनि व्यक्तिले उम्मेदवारी दिएका छैनन् । साथै उनीहरूविरुद्ध वडाका कसैले पनि उम्मेदवारी दर्ता नगर्ने सहमति भएको छ ।