सिन्धुपाल्चोकको चौतारामा नेकपा माओवादी केन्द्रका टिकट पाउने र नपाउने पक्षबीच झडप



सिन्धुपाल्चोकको चौतारामा नेकपा माओवादी केन्द्रका टिकट पाउने र नपाउने पक्षबीच झडप

सिन्धुपाल्चोक १२ बैशाख । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रको दुई पक्षबीच झडप भएको छ । टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो ।

उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । स्थानीय आवश्यकताका आधारमाभन्दा काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको स्थानीय नेताहरूको गुनासो छ ।

माओवादी कार्यकर्ताबीचको झडपका कारण चौतारा साँगाचोकगढी निर्वाचन कार्यालय तनावग्रस्त भएको छ । तोडफोड र झडपका कारण उम्मेदवारी मनोनयन प्रक्रियासमेत अवरुद्ध भएको छ ।

चौतारा साँगाचोकगढी वडा नम्बर १ र १४ को वडाध्यक्ष नेकपा एकीकृत समाजवादीलाई दिएपछि माओवादी कार्यकर्ता आक्रोशित भएर तोडफोडमा उत्रिएका हुन् । माओवादीकै दुई पक्षबीच झडपका क्रममा निर्वाचन कार्यालयका झ्यालको सिसाहरु फुटेका छन् ।

३० मत पनि नभएको नेकपा एसलाई वडाध्यक्ष दिइएको भन्दै माओवादी कार्यकर्ताहरु झडपमा उत्रिएका थिए । यसैबीच चौतारा साँगाचोकगढीका मेयर अमानसिंह तामाङले माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे