उम्मेदवार बन्न राप्ती गाउँपालिकाकी उपाध्यक्ष चौधरी सहित १८ जना जनप्रतिनिधीद्धारा राजिनामा



उम्मेदवार बन्न राप्ती गाउँपालिकाकी उपाध्यक्ष चौधरी सहित १८ जना जनप्रतिनिधीद्धारा राजिनामा

भालुवाङ ९ वैशाख । दाङको राप्ती गाउँपालिकाकी उपाध्यक्ष सहित १८ जना जनप्रतिनिधीहरुले शुक्रवार राजिनामा दिएका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनमा पुन उम्मेदवारी दिनका लागि उनीहरुले राजिनामा दिएका हुन् ।यसरी राजिनामा दिनेहरुमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरी, सोही वडाका सदस्यहरु नित्यानन्द शर्मा, सरस्वती दमाई, ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री, सोही वडाका वडा सदस्य माया परियार, ५ का वडा अध्यक्ष गोवर्धन रावत, सोही वडाका सदस्यहरु गणेश कुमार चौधरी, शिवा भट्टराई, शारदा परियार, ६ का वडा अध्यक्ष वेदप्रसाद चौधरी, सोही वडाका सदस्यहरु इन्द्रदेवी नेपाली, ताराकुमारी चौधरी, कृष्णकुमार चौधरी, पुरन प्रसाद चौधरीले राजिनामा दिएका छन् ।

त्यसै गरी वडा नम्बर १ का वडा सदस्यहरु पुर्णजंग रेश्मी, श्यामलाल पोख्रेल, वडा नम्बर २ की वडा सदस्य पिमा गाहा मगर रहेका छन् । उनीहरु सवैले राप्ती गाउँपालिकाका प्रशासन शाखा प्रमुख विकास शर्मालाई राजिनामा बुझाएका हुन् । उपाध्यक्ष पदबाट राजिनामा दिएकी जगदम्बाकुमारी चौधरी २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट विजय भएकी थिइन् । अहिले पनि उनी सोही पार्टीबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा लागेकी छिन् ।

त्यस्तै नेपाली कांग्रेसबाट ७ नम्बर वडा अध्यक्षमा विजय भएका विद्याशरण चौधरी यस पटकको निर्वाचनमा पनि फेरी सोही पार्टीबाट वडा अध्यक्षकै पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । सोही वडाका सदस्यहरु नित्यानन्द शर्मा र सरस्वती दमाईले पनि यस पटकको निर्वाचनमा नेपाली कांग्रेसबाट पुन सदस्य पदमै उम्मेदवारी दिने तयारी गरेका छन् ।

त्यसै गरी नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर १, ४, ५ र ६ का वडा अध्यक्ष तथा सदस्यहरुले पनि सोही पार्टीबाटै पुन आ– आफ्नै पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट वडा नम्बर २ मा निर्वाचित वडा सदस्य पिमा गाहा मगर पुन माओवादी केन्द्रबाट वडा सदस्यमा उम्मेदवारी दिने बताएकी छिन् ।

यता राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदील भने यस पटकको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवारी नदिने बताएका छन् । राजिनामा दिएका जनप्रतिनिधीहरुले पुन विभिन्न पार्टीबाट अध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिनका लागि राजिनामा दिनु परेको बताएका छन् । राजिनामा दिए लगत्तै उनीहरुलाई विभिन्न पदमा पुनः उम्मेदवारी दिनका लागि बाटो खुला भएको छ ।

आगामी स्थानीय तह निर्वाचनमा बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने भएका छन् । उम्मेदवारी दिंदा राजिनामा दिनुपर्ने चुनावी आचारसंहिताको प्रावधान विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि जनप्रतिनिधिले चुनाव लड्न राजिनामा दिनुपर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे