शान्ति सुरक्षालाई मजबुद बनाउन वडा तहमा प्रहरी परिचालन गर्छु : प्रहरी निरिक्षक शाह



शान्ति सुरक्षालाई मजबुद बनाउन वडा तहमा प्रहरी परिचालन गर्छु : प्रहरी निरिक्षक शाह

सिसहनियाँ ९ वैशाख । इलाका प्रहरी कार्यालय भालुवाङमा भर्खरै सरुवा भएर आएका प्रहरी निरिक्षक सुजनविक्रम शाहले राप्ती गाउँपालिका क्षेत्रको शान्ति सुरक्षामा विशेष ध्यान दिने बताएका छन् ।

राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले शुक्रवार सिसहनियाँमा आयोजना गरेको परिचयात्मक तथा स्वागत कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । प्रहरी निरिक्षक शाहले स्थानीय तह निर्वाचनलाई समेत ख्यालमा राखेर वडा– वडामा प्रहरी परिचालन गर्ने तयारीमा आफु जुटेको समेत बताएका थिए ।
उनले समाजमा हुने हरेक अबाञ्चित क्रियाकलाप नियन्त्रण गर्ने दायित्व प्रहरीको भए पनि प्रहरी एक्लैले मात्र चाहेर समाजमा शान्ति स्थापना गर्न नसक्ने हुँदा नागरिकको सहयोग पनि आवश्यक रहेको बताएका थिए ।

त्यस्तै कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावतले यस क्षेत्रमा हुने विभिन्न घटना परिघटनामा प्रहरी सँग आफ्नो निरन्तर साथ सहयोग रहने बताउँदै शान्ति सुरक्षामा विषेश ध्यान दिन सुझाव दिएका थिए । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले यस क्षेत्रमा हुने दुर्घटना, चोरी, अटो व्यवस्थापन, लागु औषध नियन्त्रणका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी अघाँखाँचीबाट दाङको इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भएर आएका प्रहरी निरिक्षक सुजनविक्रम शाह र जिल्ला प्रहरी कार्यालय दाङबाट इलाका प्रहरी कार्यालय सिसहनियाँमा सरुवा भएर आएका कुमार केसीलाई चेम्बरका अध्यक्ष कुमार अधिकारी र वडा अध्यक्ष गोवर्धन रावतले स्वागत गरेका थिए ।

चेम्बरका प्रथम उपाध्यक्ष नेमलाल बेल्वासे मनुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमालेका राप्ती गाउँपालिका कमिटि अध्यक्ष मदन अधिकारी, नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश कमिटिका सदस्य सुदनप्रसाद खनाल, सिसहनियाँ उद्योग वाणिज्य संघका सचिव मदन पोख्रेल, प्रगतीनगर शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष शान्तराज शर्मा, हिको संस्थाका अध्यक्ष प्रकाश विष्ट, सल्लाहकार तुलसीप्रसाद गौतम, चित्रबहादुर खत्री, चेम्बरका शुभचिन्तक तथा स्वास्थ्यकर्मी बसन्तकुमार रावत लगायतका वक्ताहरुले आ– आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे