आउन थाले मतदान सामग्री, प्रक्रिया पूरा गरी जिल्ला जिल्लामा पठाउने तयारी



आउन थाले मतदान सामग्री, प्रक्रिया पूरा गरी जिल्ला जिल्लामा पठाउने तयारी

काठमाण्डाै २७ चैत । पालिका चुनावका लागि प्रयोग हुने मतदान सामग्री आउन थालेका छन् । मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक साना आकारका सामग्री आइसकेको तर मतदानमा प्रयोग हुने छेकबार, लाहा अझै नआएको निर्वाचन आयोगले जनाएको छ ।

नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, मसी, स्टिच र पिन, पन्चिङ मेसिन, मार्कर, कलम, मास्क, स्यानिटाइजरलगायत आइपुगेको छ । यी धेरैजसो सामग्री भारतबाट आएका छन्। चुनावमा ५६ प्रकारका सामग्री प्रयोग हुनेछन् ।

मतपेटिका चीनबाट आयात भइसकेको तर अहिलेसम्म आयोगले बुझिनसकेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यसपालिको पालिका चुनावमा ९५ हजार मतपेटिका प्रयोग हुने अनुमान छ ।

त्यसमध्ये २५ हजार खरिद गरिँदैछ । बाँकी मतपेटिका आयोगसँग मौज्दात छ । निर्वाचन आयोगले चुनाव हुनु एक महिनाअघि नै सबै सामग्री बुझाउनेगरी गएको फागुन अन्तिम हप्ता आपूर्तिकर्तासँग सम्झौता गरेको थियो ।

मतदान प्रयोजनका लागि आयोगले १० वटा प्याकेजमा २३ प्रकारका सामग्री खरिदको सम्झौता गरेको थियो । त्यसमध्ये झन्डै १५ प्रकारका सामग्री आयोगले प्राप्त गरेको प्रवक्ता पौडेलले बताए । यी सामग्री आवश्यक प्रक्रिया पूरा गरी जिल्ला जिल्लामा पठाउने तयारी छ ।

आयोगले जिल्लामा खटिएका निर्वाचन अधिकृत, अधिकृत र अधिकारीलाई आवश्यक तालिम दिने पनि तयारी गरेको छ । आउँदो ३० गते विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा र वैशाख २ गते जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा तालिम दिने तयारी छ ।

तालिम चुनावको व्यवस्थापन र तयारीमा केन्द्रित हुने आयोगका प्रवक्ता पौडेलले जानकारी दिए । पालिका चुनाव आउन अब ३३ तीन मात्रै बाँकी छ । हिजोदेखि चुनावको आचारसंहिता समेत लागू भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे