दाङमा इनारमा हाम फालेर मृत्यु भएका पुरुषको शवलाई ९ घण्टा पछि निकालियाे



दाङमा इनारमा हाम फालेर  मृत्यु भएका पुरुषको शवलाई ९ घण्टा पछि निकालियाे

दाङ २० चैत । दाङको घोराहीमा सार्वजनिक इनारमा हाम फालेर मृत्यु भएका पुरुषको शवलाई नेपाली सेनाले करिब ९ घण्टा पछि निकालेको छ । आइतबार बिहान साढे ८ बजे घोराही उपमहानगरपालिका २ रामपुर निमोरिया निवासी ३४ वर्षीय होमनारायण चौधरीले इनारमा हामफालेका थिए ।

चौधरीको शवलाई रणसिंह दल गणका सेनानी धिरज खत्रीको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले निकालेको रणसिंह दल गणका प्रमुख सेनानी रविन्द्र महर्जनले जानकारी दिए । प्रमुख सेनानी महर्जनका अनुसार ‘माउण्टेन वारसेयर’ गरेको दक्ष महिला तथा पुरुषको टोलीले इनारबाट शव निकालेको हो ।

चौधरीको शवलाई लगभग २५/३० फिट गहिरो इनारबाट निकालिएको उनले बताए । इनारमा पानीको मूल धेरै जाग्ने भएकोले पानी फाल्न कठिनाई भएको र पानी फाल्ने सामाग्री पनि सानो भएकोले शव निकाल्न समय लागेको प्रमुख सेनानी महर्जनले बताए । यसअघि पनि विभिन्न क्षेत्रका विपद्हरुमा नेपाली सेनाको रणसिंह दल गणले सहयोग गर्दै आएको छ ।

चौधरीले ईनारमा हामफालेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । चौधरीको अनैतिक सम्बन्धको खबर गाँउमा फैलिएपछि छानबिन गर्न बैठक बोलाउदा उनी त्यसबाट बच्नका लागि इनारमा हामफालेको हुन सक्ने प्रहरीको भनाई छ । उनको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे