राप्ती गाउँपालिकामा आज देखि हात्तीपाइले विरुद्धको औषधी खुवाउन सुरु



राप्ती गाउँपालिकामा आज देखि हात्तीपाइले विरुद्धको औषधी खुवाउन सुरु

भालुवाङ २८ फागुन । सरकारले आज देखि दाङ सहित देशभरका १० जिल्लामा हात्तीपाइले रोग विरुद्वको औषधी खुवाउने अभियान संचालन गरेको छ । देशभरका १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सञ्चालन भएको हो ।

आज तोकिएको बुथमा औषधी खुवाइएको छ भने अन्य भोली देखि घरघरमै गएर औषधी खुवाउने कार्यक्रम रहेको बताइएको छ । यसै बीच आज राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले औषधी खाएर अभियानको सुभारम्भ गर्नु भएको छ । आफुले औषधी खाएपछि अरुलाई पनि औषधी खान निर्देशन दिएका छन् ।

आज देखि सुरू गरिएकोे औषधी खुवाउने कार्यक्रममा २ वर्ष मुनिका बच्चा, गर्भवती, ७ दिनको सुत्केरी र थला परेका दिर्घरोगी बाहेक निरोगी नागरिकहरुले ढुक्क भएर औषधी खान सकिने राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।
राप्ती गाउँपालिकाको वडा नम्बर ८ दाङ जिल्लाकै जोखिम वडा भएको र त्यहाँ धेरै नागरिकमा हात्तीपाइलेको संक्रमण देखिएकाले विशेष जनशक्ति परिचालन गरि औषधी खुवाउन थालिएको छ ।

राप्ती गाउँपालिकामा करिव ४३ हजार नागरिकलाई औषधी खुवाउन ४० जना स्वास्थ्यकर्मी र ६४ जना स्वमसेविका परिचालन गरिएकोे स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् । राप्ती गाउँपालिका क्षेत्रमा आम औषधी खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन ९ वटै वडामा बुथ खडा गरि कुनै पनि नागरिक औषधी खानबाट नछुटुन भनेर १ दिन बुथमा र बाँकी दिन घर घरमा गएर औषधी खुवाइने कार्यक्रम रहेको प्रस्तावित भालुवाङ अस्पतालका सिनियर अहेव अधिकृत कृष्णप्रसाद श्रेष्ठले बताए ।

हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधी खुवाउने कार्यक्रम रहेको छ । सरकारले सन् २००३ देखि आम औषधी वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको छ । दाङ सहित झापा, बारा, लमजुङ, पर्वत, बागलुङ, मोरङ, कपिलवस्तु, बाँके र कैलाली जिल्लामा हात्तीपाइले विरुद्वको औषधी खुवाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे