उल्टो पैदलयात्री परियार ४२ दिनका दिन दाङको धानखोला आइपुगे, आज दिउँसो भालुवाङमा स्वागत गरिदै
भालुवाङ २८ फागुन । झापाको मेची पुलबाट उल्टो हिडाई शुरु गरेका दाङका ऋषि परियार शुक्रबार ४२ औं दिनमा दाङ आई पुगेका छन् । गत माघ १५ गते झापाको काकडभिट्टाबाट उल्टो यात्रा शुरु गरेका परियार शुक्रबार बेलुका दाङको धानखोला आईपुगेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ घर भएका परियारले स्वास्थ्यका लागि हिड्नुपर्छ भन्ने सन्देश दिन मेची महाकाली उल्टो पैदल यात्रा थालेको बताए ।
स्वास्थ्यका लागि दैनिक केही घण्टा हिडौ भन्ने र नेपाललाई बिश्वमा चिनाउनका लागि पनि यात्रा गरेको उनले बताए । नेपाली पोशाकका परियारले यात्रा गर्दै आएका छन् ।
उनी शुक्रबार धानखोलामै बास बसेको र शनिबार बिहान ७ बजेबाट यात्रा थालिसकेका छन् । अबको करिब २२ दिनमा महाकाली पुग्ने लक्ष्य रहेको उनको भनाई छ ।
परियारको खुट्टामा लगातारको हिँडाइले ठेला उठेका छन् । तर बाटोमा हिँड्दा भेटिने समर्थकहरूको साथले सबै बिर्सिएर उर्जा दिएको उनले बताए ।
पाइलैपिच्छे सेल्फी हान्ने र भिडियो खिच्नेको भीडले थकान मेटिने गरेको अनुभब सुनाए । परियार पूर्व – पश्चिमको मुख्य सडकमा सेलिब्रेटी बन्नुभएको छ । सम्बन्धित क्षेत्रको प्रहरी कार्यालयले एक जना प्रहरी खटाउने गरेको छ ।
परियार दाङ क्षेत्रमा आईपुगेपछि विभिन्न ठाउँबाट उनलाई स्वागत गर्न धानखोला नागरिकहरु पुगेका थिए । परियारले दुई पटक गिनिज बुक अफ वल्ड रेकडमा नाम लेखाइसकेका छन् । सन् २०२० जनवरी २१ मा जम्पिङ जक्समा उनको नाम छ
एक मिनेटमा १ सय २३ पटक जम्प गरेका थिए । यसअघि भारतीय नागरिकले राखेको १ सय १६ पटकको रेकर्ड उनले तोडेका हुन् ।
त्यस्तै, इजिप्टका नागरिकले ३० सेकेन्डमा ५४ पटक लाठी घुमाएको रेकर्ड उहाँले ५७ पटक गरेर तोड्नुभएको थियो । यसपटक उल्टो हिँडेर फेरि गिनिजमा नाम लेखाउने उनको योजना छ ।
यसै बीच राप्ती गाउँपालिका १ भालुवाङमा परियारलाई राप्ती उद्योग वाणिज्य संघ, आशाका किरण लगायतका संघ संस्थाले स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।