राप्ती गाउँपालिकामा ४३ हजार नागरिकलाई हात्तीपाइले विरूद्वकाे औषधी खुवाइने



राप्ती गाउँपालिकामा ४३ हजार नागरिकलाई हात्तीपाइले विरूद्वकाे औषधी खुवाइने

भालुवाङ २७ फागुन । दाङमा हात्तीपाइले विरूद्वको आम औषधी खुवाउने कार्यक्रम सफल हुन नसकेपछि राप्ती गाउँपालिकाले वडा देखि टोलबस्ती सम्म अन्तरक्रिया कार्यक्रम सुरू गरेको छ ।

उच्च तहका नागरिकहरुले नै औषधी नखाइदिदा प्रत्येक वर्ष औषधी खुवाउने कार्यक्रम सञ्चालन गर्नु परेको छ । यस वर्ष राप्ती गाउँपालिकाका सवै नागरिकलाई औषधी खुवाउन टोल विकास संस्था र स्वमसेविकाहरू कम्मर कसेर लागेका छन् । आफ्नो वडामा औषधी खुवाउने कार्यक्रम सफल बनाउन वडाबासीहरूको घरघरमा सुचना प्रवाह गरेको आँपखोली टोलविकास संस्था भालुवाङका अध्यक्ष टेकबहादुर महतरा र महिला स्वास्थ्य स्वमसेविका जीवन गुप्ताले बताए ।

फागुन २८ गते देखि सुरू गरिन लागेको औषधी खुवाउने कार्यक्रममा २ वर्ष मुनिका बच्चा, गर्भवती, ७ दिनको सुत्केरी र थला परेका दिर्घरोगी बाहेक निरोगी नागरिकहरुले ढुक्क भएर औषधी खान सकिने भालुवाङ प्रस्तावित अस्पतालका मेडिकल अफिसर डाक्टर मिनस यादवले सवै नागरिकमा आग्रह गरेका छन् ।

राप्ती गाउँपालिकाको वडा नम्बर ८ दाङ जिल्लाकै जोखिम वडा भएको र त्यहाँ धेरै नागरिकमा हात्तीपाइलेको संक्रमण देखिएकाले विशेष जनशक्ति परिचालन गरि औषधी खुवाउन थालिएको छ । राप्ती गाउँपालिकामा करिव ४३ हजार नागरिकलाई औषधी खुवाउन ४० जना स्वास्थ्यकर्मी र ६४ जना स्वमसेविका परिचालन गरिन थालेको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिका क्षेत्रमा आम औषधी खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन ९ वटै वडामा बुथ खडा गरि कुनै पनि नागरिक औषधी खानबाट नछुटुन भनेर १ दिन बुथमा र बाँकी दिन घर घरमा गएर औषधी खुवाइने कार्यक्रम रहेको प्रस्तावित भालुवाङ अस्पतालका सिनियर अहेव अधिकृत कृष्णप्रसाद श्रेष्ठले बताए ।

यसै बीच आज राप्ती गाउँपालिकाको वडा नम्बर १ को प्रस्तावित भालुवाङ अस्पतालमा सरोकारवाला निकायहरु बीच अन्तरक्रिया समेत गरिएको छ । हात्ती पाइले औषधी खुवाउने कार्यक्रमको भोली लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले राप्ती गाउँपालिका वडा नम्बर २ मा औषधी खाएर कार्यक्रमको सुभारम्भ गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे