राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग , एमसीसीको विरोधमा आन्दोलन गर्ने
काठमाण्डाै १६ फागुन । राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । आज साेमवार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी जबरजस्ती अनुमोदन गरिएको भन्दै गठबन्धन छाड्ने निर्णय गरेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनका विरुद्ध जनमोर्चाले पाँच दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिँदै आए पनि अहिले सरकारले नेपालको स्वाधीनता र सुरक्षाको विरुद्धमा रहेको एमसीसी अनुमोदन गरेकाले गठबन्धनबाट बाहिरिएको जनाएको छ ।
नेपाली नागरिक सडकमा आएकाे अवस्थामा जलझेल गरेर ध्वनि मतको आधारमा एमसीसी पारित गरेको आरोप लगाउँदै जनमोर्चाले तानाशाही तथा निरङ्कुश प्रवृत्तिको विरोध तथा भण्डाफोर गर्ने जनाएको छ ।
यस्तै एमसीसीविरुद्धको सङ्घर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९ देखि २२ गतेसम्म देशव्यापी, जिल्ला तथा स्थानीयस्तरका विरोध सभाहरू गर्ने जनमोर्चाले निर्णय गरेको छ ।