शिवशवरी धाम पहरुवामा शिवरात्री धार्मिक मेला तथा वृहत साँस्कृतिक कार्यक्रम हुने
सिसहनियाँ १२ फागुन । महाशिवरात्री पर्वको अवसरमा दाङ देउखुरीको राप्ती गाउँपालिका ५ पहरुवा स्थित शिवसवरीधाम धार्मिक केन्द्रमा शिवरात्री मेला तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानीमा रहेको बहुचर्चित एक मात्र धार्मिक स्थलमा प्रत्येक वर्ष मेला लाग्दै आएको छ । धार्मिक स्थलको प्रचारप्रसार तथा हिन्दुधर्मको संरक्षण र विभिन्न कला संस्कृतिको जगेर्नाका लागि मेला आयोजना गरिएको मेला प्रचार प्रसार समितिका संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।
फागुन १६ गते देखि १८ गते सम्म सञ्चालन हुने मेलामा फागुन १६ गते बेलुका भजनकृतन, १७ गते विहान १० बजे मेला उद्घाटन तथा कलाकार सहितको वृहत साँस्कृतिक कार्यक्रम र १८ गते विहान ११ बजे मेला समापन हुने केन्द्रका सचिव राजेन्द्र चौधरीले जानकारी दिएका छन्
यसै बीच मेलालाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन केन्द्रका पुर्व अध्यक्ष मिश्रुलाल चौधरीको संयोजकत्वमा मेला मुल आयोजक समिति गठन गरि जिम्मेवारी समेत बाँडफाड गरिएको छ । जस अनुसार आर्थिक समितिको संयोजकमा शिशिर चौधरी, साँस्कृतिक समितिको संयोजकमा राजेन्द्र चौधरी, स्टल व्यवस्थापन समितिको संयोजकमा टन्टु चौधरी, प्रचार प्रसार समितिको संयोजकमा ओमप्रकाश गुप्ता, स्वमसेवक समितिको संयोजकमा किरण आचार्य, भण्डारा संयोजकमा सुरजमणी चौधरी र अतिथि सत्कार समितिमा बसन्ती, प्रतिक्षा र रचना चौधरी रहेका छन् ।
धार्मिक केन्द्रमा स्वर्ग प्राप्तिका लागि गंगा सागर, सागरघाट, विश्वको अग्लो त्रिशूल, १०८ वटा धारा, ५७ वटा शिव लिङ्ग, ३३ कोटी होमकुण्ड, कैलास पर्वत, शिव मन्दिर, भोलेनाथको मन्दिर, मुक्तिनाथ बाबाको मन्दिर, सौणाकोट बाबाको मन्दिर, प्रभुको लुकामारी, प्रभुको गुफा, भगवती देवीको मन्दिर, गोवर्धन पर्वत, सन्तोषी माताको मन्दिर, हनुमानको मन्दिर, बिष्णु भगवानको धुना, बुद्ध भगवानको धरहरा, सुपादेउराली दर्शन, राम भगवानको कुट्टी, बिष्णु भगवानको पोखरी र शिवघाट रहेको छ ।