राप्ती गाउँपालिकामा बालबालिकाको अधिकार तथा संरक्षण नीतिलाई अन्तिम रुप दिन कार्यशाला गोष्ठी



राप्ती गाउँपालिकामा बालबालिकाको अधिकार तथा संरक्षण नीतिलाई अन्तिम रुप दिन कार्यशाला गोष्ठी
भालुवाङ २३ माघ । बालबालिकाको अधिकार तथा संरक्षण नीति निर्माणका लागि तेस्रो चरणको मस्यौदा संकलनका लागि कार्यशाला गोष्ठीको आयोजना गरि सहजीकरण गरिएको छ ।
राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । राप्ती गाउँपालिका र बेस संस्थाको सहकार्यमा दुई चरणको मस्यौदा निर्माण सम्पन्न पश्चात बालबालिकाको अधिकार तथा संरक्षण नीतिलाई अन्तिम रुप दिनका लागि गोष्ठीको आयोजना गरिएको हो ।
राप्ती क्षेत्रका ९ वटै वडाका बाल क्लवका प्रतिनिधि, कार्यपालिका सदस्यहरु साथै शाखा प्रमुखहरुको सहभागीता रहेको गोष्ठीमा नीति निर्माण र कार्यान्वयनका पक्षमा समेत छलफल गरिएको थियो । राप्ती गाउँपालिका उपाध्यक्ष एवं न्यायीक समिति संयोजक जगदम्वाकुमारी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नीतिका प्रमुख उद्देश्यहरुमा सबै किसिमका शारीरिक वा मानसिक हिंसा क्षति वा दुर्वेवहार परित्याग, उपेक्षा, शोषण वा यौन दुव्र्यवहारबाट बालबालिकालाई संरक्षण गर्नेलगायतका रहेको छन् ।
बालबालिका जन्मनु अघि र जन्मे पछि उनीहरूलाई आवश्यक स्याहार, पोषण सहयोग र शिक्षा प्रदान गरी बालबालिकाको शारीरिक, मानसिक र शैक्षिक विकास गर्ने, आफ्नो धारणा बनाउन सक्षम बालबालिकालाई निजसंग सम्वद्ध सबै विषयहरूमा आफ्नो विचार अभिव्यक्त गर्न पाउने अवसर दिई बालसहभागिता अभिवृद्धि गर्ने, बालबालिका प्रतिको विभेद अन्त्य गर्ने, बाल न्याय प्रणालीलाई सुढृड गर्ने विषयहरु बालबालिकाको अधिकार तथा संरक्षण नितिमा संलग्न गरिएको छ ।
राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको तर्फवाट महिला विकास निरिक्षक जिवन कुमारी जिसी, सहायक महिला विकास निरिक्षक कल्पना खनाल र बेसको तर्फवाट बासुदेव चौधरी र पटवारी यादवले बालबालिकाको अधिकार तथा संरक्षण नितिमा सहजीकरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे