प्रदेश राजधानी स्थान्तरणमा पत्रकारको खवरदारी आवश्यक छ : अध्यक्ष पोख्रेल



प्रदेश राजधानी स्थान्तरणमा पत्रकारको खवरदारी आवश्यक छ : अध्यक्ष पोख्रेल

दाङ १० माघ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले लुम्बिनी प्रदेशको राजधानी स्थान्तरणमा पत्रकारहरूले निरन्तर खवरदारी आवश्यक रहेको बताएका छन् ।

अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा राजधानी स्थान्तरणमा ढिलाई भइरहेका बेला केन्द्रीय अध्यक्ष पोख्रेलले स्थायी राजधानीमा मन्त्रालयहरू सार्न पत्रकारहरूले खवरदारी नगर्दा सम्म काम छिटो छरितो नहुने बताएका छन् ।

घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ दाङ शाखाले सोमबार देखि दाङको घोराहीमा  आयोजना गरेको तीन दिने विविध विधाका बिषयमा पत्रकारहरूका लागि क्षमता विकास अभिवृद्धि तालिमलाई उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रीय अध्यक्ष पोख्रेलले हरेक निकाय तथा कार्यालयमा हुने ढिलासुस्ती तथा भएका निर्णय कार्यान्वयनका लागि पनि पत्रकारको खवरदारी आवश्यक रहेको बताए ।

साथै उनले जहाँ बलियो पत्रकारिता हुन्छ, जहाँ सक्षम पत्रकार हुन्छन् त्यो समाजको मात्र छिटो  विकास हुने भएकाले अब पत्रकारहरूले विकास पत्रकारिता तर्फ कलम चलाउन सुझाव दिए । 

त्यस्तै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले संचार क्षेत्रको विकास भएमात्रै अन्य क्षेत्रको विकासले गति लिने बताए । उनले समाज परिवर्तनका लागि पत्रकारको भुमिका महत्वपुर्ण हुने भएकाले निश्पक्ष र मर्यादित ढंगले कलम चलाउन आग्रह गरे ।

पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष तथा सल्लाहकार सविन प्रियाशन लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तालिममा अनलाईन डिजिटल मिडिया, रेडियो, छापा लगायतका संचार माध्यममा कार्यरत जिल्ला भरिका पत्रकारहरु सहभागी भएका छन् । महासंघका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन  सचिव आरके शितलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे