दिमागकाे छाउ गाेठ भत्काए मात्रै छाउपडी अन्त्य हुन्छ : राष्ट्रपति
काठमाण्डाै २१ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा विकृति र विसङ्गति नहोस् भन्नका लागि आफ्नो ठाउँबाट नै परिवर्तन गर्नुपर्ने बताएकी छिन् । आज बुधवार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाण्डाै आएका प्रतिनिधिसँगको भेटघाटमा उनले यस्ताे बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले पश्चिममा छाउपडीको समस्याले विभिन्न घटना निम्त्याइरहेको भन्दै त्यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडीको गोठ भत्काउन आवश्यक रहेको बताइन् । राष्ट्रपति भण्डारीले कतिपय ठाउँमा छाउपडीकै कारण महिलामाथि आपराधिक घटना भइरहेकाले दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘वास्तवमा यो छाउपडी त एउटा वैज्ञानिक प्रणाली हो नि मानव शरीरको । त्यो नभइकन सन्तान पनि जन्मिँदैन । तर त्यो कुरालाई पनि यस्तो अन्धविश्वासले जगडेको छ कि, त्यसबाट पनि धेरै घटना भएका छन् । शारीरिक दुःख त हुन्छ हुन्छ । बाहिर बस्नुपर्छ । सर्पले डस्नेदेखि अपराधिक सोच भएकाहरूबाट आक्रमण हुने अनेक प्रकारको दुःख हुने र प्रतिष्ठामा आँच आउने गरेकाे छ ।
त्यसलाई हामीले हटाउन जरुरी छ । त्यो एकै पटक सम्भव छैन । नेताहरूले छैन भन्छन्, तर त्यही जिल्लामा बढी हुन्छ । सरकार जान्छ गोठ भत्काइदिएर आउने तर सरकारका प्रतिनिधिहरू सधैँ बसिरहँदैनन् । फेरि गोठ बनाइहाल्ने । दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुन्छ ।’
कार्यक्रममा राष्ट्रपति भण्डारीले आजको आवश्यकता भनेको विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने रहेको बताइन् । उनले युवा, युवती बीच हुने अपहरण, बलात्कारजस्ता विकृतिलाई समाजबाट न्यूनीकरण गर्न समाजिक सङ्घ–संस्थाहरूको ठूलो भूमिका रहेकाले उनीहरूले सरकारसँग मिलेर समाजका विकृति, विसङ्गतिहरू समाधान गर्नुपर्नेमा जाेड दिएकी छिन् ।