दाङमा सर्वसाधारणबाट लाखौं रकम ठगी गरेको आरोपमा घले र उपाध्याय पक्राउ



दाङमा सर्वसाधारणबाट लाखौं रकम ठगी गरेको आरोपमा घले र उपाध्याय पक्राउ

दाङ २० पुस । इलाका प्रहरी कार्यालय तुलसीपुरले फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ कम्पनीका सुरेस घले र युवराज उपाध्यायलाई पक्राउ गरेको छ । जिल्ला संयोजक सुरेश घलेलाइ बर्दिया प्रहरीको सहयोगमा बर्दियाबाट र युवराज उपाध्यायलाई तुलसीपुरबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

एक हप्ता पहिले नै शुरेस घलेलाई पक्राउ गरे पनि युवराज उपाध्यायको खोजी भईरहेकाले पक्राउ गरेको कुरा पहिले सार्वजनिक नगरेको अर्यालले बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा कार्यालय खोलेर कम्पनीको नाममा सर्वसाधारणबाट लाखौं रकम उठाएर ठगी गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको आर्यालले बताए ।

केही समय पहिले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा ४८ जना उक्त कम्पनीका कर्मचारीहरूले संयुक्त रूपमा ठगी मुद्दामा जाहेरी दिएका थिए । ती कर्मचारीहरूले घले, उपाध्याय र सुमन भनिने मानबहादुर देउवाविरूद्ध किटानी जाहेरी दिएका थिए । फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ कम्पनीले तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकालाई कार्यक्षत्र बनाएर कार्य गर्दै आएको थियो ।

कम्पनीले ती स्थानका सर्वसाधारण कृषकको उन्नतिका लागि भन्दै किसानलाई सदस्य बनाउने बहानामा समुह बनाएर प्रतिकिसान ५ सय रुपैयाँका दरले रकम संकलन गरेको थियो । संकलित रकममध्ये बीमा बापतको ९ लाख ५० हजार रुपैयाँ, कम्पनीको सेयर बनाउने भनेर ५ जनाबाट ३ लाख रुपैयाँका दरले संकलित रकम १५ लाख रुपैयाँ, विदेश पठाइ दिने भनेर एक जनाबाट संकलित ७ लाख र ४३ जना कर्मचारीलाई ७ महिना सम्मको दिन बाँकी तलब ५५ लाख ७७ हजार ८ सय रुपैयाँ रकम समेत ठगी गरेको भन्दै पीडितहरुले जाहेरी दिएका छन् । पक्राउ परेकाविरूद्ध अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे