देउखुरीको भालुवाङमा इन्द्रणी क्लबको तीन तल्ले सुविधा सम्पन्न भवन निर्माण



देउखुरीको भालुवाङमा इन्द्रणी क्लबको तीन तल्ले सुविधा सम्पन्न भवन निर्माण

भालुवाङ १८ पुस । दाङ-देउखुरीको राप्ती गाउँपालिका-१ भालुवाङ पुल्चाेक बजारमा रहेकाे इन्द्रेणी युवा क्लबको नवनिर्मित सुविधा सम्पन्न तीन तल्ले पक्की भवनको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

संघीय सांसद मेटमणि चौधरीको सांसद विकास कोषबाट तीन पटक गरी ३५ लाख, राप्ती गाउँपालिकाबाट १ लाख र क्लबको आन्तरिक कोष तथा विभिन्न व्यक्तिबाट प्राप्त सहयोग १८ लाख ३१ हजार गरी कुल ५४ लाख ३१ हजारको लागतमा उक्त तीन तल्ले पक्की भवन निर्माण गरिएको क्लबका अध्यक्ष भिम मरासिनीले जानकारी दिए ।

उक्त भवन निर्माणका लागि संघीय सांसद मेटमणि चौधरीको सांसद विकास कोषबाट आर्थिक बर्ष २०७५/०७६ मा २० लाख, सोही कोषबाट आर्थिक बर्ष २०७६/०७७ मा १० लाख र आर्थिक बर्ष २०७७/०७८ मा ५ लाख तथा राप्ती गाउँपालिकाबाट आर्थिक बर्ष २०७५/०७६ मा १ लाख र क्लबको आन्तरिक कोष तथा विभिन्न व्यक्तिबाट प्राप्त सहयोग १८ लाख ३१ हजार गरी कुल ५४ लाख ३१ हजारको लागतमा एक सभाहल, तीन सटर कोठा सहित आठ कोठे पक्की भवन निर्माण गरिएको क्लबका अध्यक्ष मरासिनीले जानकारी दिए ।

अध्यक्ष मरासिनीका अनुसार क्लबको पहिलो र दोस्रो तल्लाको सबै फनिसिङ्ग भएको छ भने सबै भन्दा मथिल्लो अर्थात तेस्रो तल्लाको भने फिनिसिङ्गको काम भने बाँकी नै रहेको बताए ।

उनले दोस्रो तल्ला सम्म निर्माण गर्दा केही हाडवेयरमा निर्माण सामाग्रीको पैसा तिनुपर्ने तथा थप रकम अभावका कारण तेस्रो तल्लाको काम अधुरो भएको बताए । उनले कुनै सरकारी, गैरसरकारी, दातृ निकाय तथा व्यक्तिहरुबाट सहयोग प्राप्त भएपछि उक्त तेस्रो तल्लाको अधुरो निर्माण कार्य पनि पुरा गरिने अध्यक्ष मरासिनीले जानकारी दिए ।

क्लबका अध्यक्ष भिमबहादुर मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद तथा नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मेटमणि चौधरीले उक्त नवनिर्मित सुविधा सम्पन्न तीन तल्ले पक्की भवनको उद्घाटन गर्नु भएको हो । सांसद चौधरीले शिलालेख अनावरण गरेर उक्त भवनको उद्घाटन गरेका छन् ।

भवन उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका सांसद चौधरीले भालुवाङ सहित देशभर भुमि सम्बन्धी समस्या भएका शहर तथा गाउँबस्तीका हकमा अबको १०/१५ दिनमा नै भुमि सम्बन्धी आयोग गठन गरेर समस्या समाधान गरिने बताए ।

त्यस्तै सांसद चौधरीले आउने आर्थिक बर्षमा देउखुरीका मुख्य शहरहरु भालुवाङ, लमही र गढवाको समृद्ध, विकासका र सबै गल्ली कालोपत्रेका लागि ६०/७० करोड बजेट बिनियोजन गरिने तथा भालुवाङका लागि मात्रै १० करोड बढी करोड बजेट बिनियोजन गर्ने तयारी भइरहेको बताए । उनले त्यसका लागि आफूले पनि मन्त्रीहरु संग छलफल गरिरहेको र मन्त्रीहरु पनि बजेट छुटाउन तयार रहेको बताए ।

क्लबका सल्लाहकार नारायण न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, आदीबासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष रामबहादुर चौधरी, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष सुरामणि बेल्बासे, नेकपा माओवादी केन्द्रका तपराज आचार्य र क्लबका संस्थापक अध्यक्ष मुकुन्दबहादुर रोका लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा क्लबको भवन निर्माण गर्न बिशिष्ट आर्थिक सहयोग गर्ने राप्ती गाउँपालिका—१ भालुवाङ निवासी हिमा मरासिनी र राप्ती गाउँपालिका—३ मसुरिया निवासी उमेश अधिकारीलाई खादा ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको थियो । क्लबको भवन निर्माण गर्न मरासिनीले ५५ हजार ५ सय ५५ रुपैयाँ र अधिकारीले ५१ हजार नगद सहयोग प्रदान गरेकाे क्लबले जनाएको छ ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जमिर शाहले गरेका थिए । वि.सं. २०६३ सालमा जिल्ला प्रशासन कार्यालय दाङमा  विधिवत रुपमा दर्ता भई स्थापना भएको उक्त क्लबमा हाल ७० जना बढी सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे