घोराही कारागारका जेलर युवराज परियार जमानीमा रिहा
घोराही १७ पुस । घोराही कारागारका जेलर युवराज परियार रिहा भएका छन् । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जेलर परियार हिजो शुक्रबार नै अदालतको आदेशले रिहा भएको जानकारी दिए ।
पक्राउ परेका तीन प्रहरीसहित अन्य ६ जना भने थुनामै छन् । त्यस्तै, घोराही कारगारको समेत जिम्मेवारी प्रदान गरिएका तुलसीपुर कारागारका जेलर अमर वलीले भने जिम्मा जमानीमा छुटेको बताए ।
परियारलाई खोजेको बेलामा उपस्थित हुने गरी छोड्न आदेश भएको वलीले बताए । घटनाका बारेमा अनुसन्धान भने जारी रहेको छ ।
फरार कैदी नाइके यमराज परियार र जेलर युवराजका बीचमा दाजुभाईको जस्तै सम्बन्ध रहेको तथा त्यही भएर कारागारभित्रै पनि यमराजलाई दिनै नमिल्ने सेवा सुविधा, अधिकार दिएको आरोप बाहिरएको थियो ।
पुस ८ गते कारागारका नाइके यमराज परियार प्रहरीकै मोटरसाइकल लगेर भागेपछि घटना अनुसन्धानका लागि भन्दै जेलर परियारसहित पुस १२ गते सात जना पक्राउ परेका थिए ।
कर्तव्य ज्यान मुद्दामा साढे सात वर्ष कैद भुक्तान गरेका कारागारका नाइके परियारलाई जिल्ला अदालतबाट २० वर्ष सजाए तोकिएको छ ।
फरार नाइके परियारको खोजी कार्यका लागि केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि खटिएको स्रोतले जानकारी दिएको छ ।
नाइके यमराजलाई भगाउन तीन जना प्रहरीको समेत मिलेमतो रहेको पाइएको भन्दै हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
घटनामा संलग्न प्रहरीका बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालको नेतृत्वमा छानविन समिति समेत गठन गरेको छ ।