देउखुरीको सिसहनियाँमा सुविधा सम्पन्न सु—समाचार मण्डलीकाे भवन उद्घाटन



देउखुरीको सिसहनियाँमा सुविधा सम्पन्न सु—समाचार मण्डलीकाे भवन उद्घाटन

भालुवाङ १७ पुस । देउखुरीको सिसहनियाँमा सिसहनियाँ सु—समाचार मण्डलीको आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । कुनैपनि सरकारीको निकाय बिना मण्डलीमा आवद्ध पाष्टर, एलडर, विश्वासी र विभिन्न व्यक्तिहरुको नगद तथा जिन्सी सहयोगमा निर्माण गरिएको उक्त मण्डलीको उद्घाटन गरिएको हो ।

करिब १६ लाख १७ हजार ५ सय १६ रुपैयाँ बढीको लागतमा उक्त मण्डलीको सुबिधा सम्पन्न भवन र शौचालय निर्माण गरिएको छ । नेपालको संविधान २०७२ मै धर्मनिरपक्ष राष्ट्र भनेर सुनिश्चित गरिएको भएपनि गाउँपालिका, वार्ड कार्यालय तथा जनप्रतिनिधिहरुको कुनै सहयोग बिना उक्त मण्डलीको निर्माण गरिएको बताइएको छ ।

मण्डलीमा पाष्टर निशुप्रसाद चौधरीको अध्यक्षता एवम् इसाई समुदाय दाङका पूर्व जिल्ला अध्यक्ष तथा बरिष्ठ पाष्टर नरबहादुर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले देश धर्मनिरपक्ष भएपनि ब्यबहारमा भने त्यस्तो नभएको बताएका थिए । उनीहरुले इसाई धर्मलम्बीहरुलाई इसाई भएकै कारण बजेट बिनियोजन देखि अधिकारमा समेत बिभेद गरिएको आरोप लगाएका छन् ।

कार्यक्रममा पाष्टर प्रशुराम पन्थी, स्वास्थ्यकर्मी प्रकाश बिष्ट, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ता, स्थानीय समाजसेवी सुरेशकुमार चौधरी र ईसाइ अगुवा सिता शाह लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रममा इसाइ धर्मका बिषयमा बचन, प्रबचन तथा भजन र नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन मण्डलीका एलडर गरिबु चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे