देउखुरीमा मुख्यमन्त्री र मन्त्रीहरू सँग अन्तरक्रिया कार्यक्रम गरिने



देउखुरीमा मुख्यमन्त्री र मन्त्रीहरू सँग अन्तरक्रिया कार्यक्रम गरिने

भालुवाङ ६ पुस । दाङको राप्ती गाउँपालिकामा सोमबार सर्वदलीय बैठक सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा राजधानीको संरचना निर्माण कार्य तथा मन्त्रालयहरु सार्नमा ढिलाई भएको भन्दै तत्काल मुख्यमन्त्री र मन्त्रीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

जनता समाजवादी पार्टीको आह्वानमा सर्वदलीय बैठक बसेको हो । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाका अध्यक्ष श्यामेश चौधरीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले लुम्बिनी प्रदेशको राजधानीको संरचना निर्माण तथा मन्त्रालय सार्न र नक्सा तत्काल सार्वजनिक गर्ने सम्बन्धि दुई वटा निर्णय समेत गरेको छ ।

लुम्बिनी प्रदेशको राजधानी देउखुरीलाई स्थायी राजधानीको रुपमा निर्णय गरेता पनि एक वर्ष बितिसक्दा पनि अहिले सम्म उल्लेखनीय राजधानी सम्बन्धि गतिविधिहरु प्राय शुन्य एवं न्यून भएको र डिपियार सार्वजनिक नगरिएको, निर्माणधिन संसद भवनको कार्य रोकिएको, घर नक्सा, जग्गा रजिष्टेशन पास लगायत कामहरु रोकिएकाले ती सम्बन्धि समस्या कसरी रोकिएका हुन् लुम्बिनी प्रदेश स्थायी राजधानीबाट किन संचालन हुन सकिरहेको छैन भन्ने विषयमा मुख्यमन्त्री र मन्त्रीहरुसंग पुष २० गते भित्र राप्ती गाउँपालिकाको सभाहलमा अन्तरक्रिया गर्ने निर्णय भएको छ ।

साथै मुख्यमन्त्री र मन्त्रीहरुको समय माग गर्नको लागि नेकपा माओवादी केन्द्र राप्ती गापाका अध्यक्ष श्यामेश चौधरीलाई जिम्मा दिइएको जसपाका जिल्ला अध्यक्ष होमप्रसाद शर्माले बताए ।

पुर्वाधार विकास प्राधिकरणलाई तत्काल नक्सा सार्वजनिक गर्न अनुरोध गर्ने भनि निर्माण समेत भएको छ । यस्तै सो बैठकमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले लुम्बिनी प्रदेशको राजधानीका लागि आफू दत्तचित्त भएर लागि परेको बताए । त्यस्तै उनले राजधानीको लागि आवश्यक संरचना निर्माण गर्नको लागि प्रयाप्त जग्गा उपलब्ध भएपनि विभिन्न प्राविधिक समस्या देखाई प्रदेशको भौतिक संरचनाहरु निर्माण गर्न र मन्त्रालयहरु सार्नमा ढिलासुस्ती भएको हुँदा अब सम्बन्धित सरोकारवाला निकायहरु यस विषयमा गम्भीर भएर लाग्नु पर्ने बताए ।

यसैगरी बैठकमा सहभागी विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले लुम्बिनी प्रदेशको स्थायी राजधानीका हरेक गतिविधिलाई अघि बढाउनको लागि पहिले मुख्यमन्त्रीको कार्यालय तत्काल सार्नु पर्ने र त्यसका लागि वर्तमान समयमा के कारणले मन्त्रालयहरु सर्न र संरचना निर्माण कार्यमा ढिलासुस्ती भएको छ भन्ने विषयलाई अन्तरक्रियाको माध्यमद्वारा सो समस्याको समाधान गर्नु पर्नेमा जोड दिएका थिए ।

बैठकमा नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी, नेकपा एमाले राप्ती गाउँपालिकाका सचिव भरतमणी न्यौपाने,जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य टोपबहादुर कार्की, राप्रपा राप्ती गाउँपालिकाका अध्यक्ष टेकबहादुर गिरी, जनता समाजवादी पार्टी राप्ती गाउँपालिकाका अध्यक्ष रणप्रसाद सुवेदी, नेकपा एकीकृत समाजवादी पार्टी लुम्बिनी प्रदेशका उपाध्यक्ष मुकुन्दराज रोका, राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिकाका अध्यक्ष केशवराज खनाल, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष होमप्रसाद शर्मा, एकीकृत समाजवादी पार्टी राप्ती गाउँपालिकाका अध्यक्ष ज्ञानु गौचन, माओवादी केन्द्र राप्ती गाउँपालिकाका अध्यक्ष श्यामेश चौधरी, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे