माओवादीलाई हराउन सक्ने तागत कोही सँग छैन: प्रचण्ड



माओवादीलाई हराउन सक्ने तागत कोही सँग छैन: प्रचण्ड

दाङ २५ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। माओवादी केन्द्रकाे शनिवार सात प्रदेश र दुइटा गैर भौगोलिक प्रदेशको सम्मेलनलाई श्रव्यदृश्यका माध्यमबाट उद्घाटन गर्दै उनले साे निर्देशन दिएका हुन् ।

माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष दाहालले भने, ‘माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन। हामी अरूजस्तो पार्टी होइन, राष्ट्र र जनताका लागि काम गर्ने पार्टी हो।’ उनले सबै तह, तप्कामा आक्रामक ढङ्गले गयौं र जनतालाई विश्वासमा लियौं भने आफू नेतृत्वको पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बीचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल भइने बताए। उनले पार्टी भित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने बताए।अध्यक्ष दाहालले पार्टीमा कमी/कमजोरी रहेको र त्यसलाई सच्याएर क्रान्तिकारी र जनपक्षीय पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको उल्लेख गरेका छन्। यता पार्टीकाे लुम्बिनी प्रदेशकाे पहिलाे सम्मेलन स्थायी राजधानी देउखुरीकाे राप्ती गाउँपालिका २ लालमटियामा सम्पन्न भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे