राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरूद्वको १६ दिने अभियान सम्पन्न



राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरूद्वको १६ दिने अभियान सम्पन्न

मसुरीया २४ मंसिर । घर बाट सुरु गरौ महिला  हिंसा अन्त्य गरौ भन्ने मूल नाराका साथ सुरु गरिएको लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको शुक्रबार राप्ती गाउँपालिका मसुरियामा समापन गरिएको छ।

राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना एवम् विभिन्न संघसंस्थाको साझेदारीमा अभियानको समापन गरिएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चाैधरीको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको विशिष्ट आतिथ्यतामा अभियानको समापन गरिएको हो ।

अभियान समापन कार्यक्रममा बोल्ने वक्ताहरूले लैङ्गिक हिंसा महिला माथि मात्र नभई पुरुष माथि पनि हुने गरेकाले आफ्नो घर परिवारबाट हिंसा अन्त्य गर्न सवै नागरिक सचेत हुनुपर्ने र सचेतना कार्यक्रम आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस राप्ती गाउँपालिकाकी उपसभापति श्यामा रावत, नेकपा एमाले राप्ती गाउँपालिकाका अध्यक्ष मदन अधिकारी, राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिकाका अध्यक्ष केशवराज खनाल, राप्रपाका राप्ती गाउँपालिका अध्यक्ष टेकबहादुर गिरी, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक भुवन भट्ट, भृकुटी महिला बिकास सहकारी संस्थाकी व्यवस्थापक परमेश्वरी ज्ञवाली, आर. आर. एनका दिपक बोहरा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जिवनकुमारी जिसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन नामसालिङ सामुदायिक विकास केन्द्रका  शशांक आचार्यले गरेका थिए।

अभियानलाई सफल पार्न नामसालिङ सामुदायिक विकास केन्द्र, सुआहारा २, आर. आर. एन, भुकुटी तथा लक्ष्मी महिला विकास सहकारी संस्थाको साझेदारी र रेडियो राप्ती तथा राप्ती टेलिभिजनको मिडिया पार्टरमा  समविकास तालिम, संदेशमुलक पोष्टर वितरण, व्यानर टंगाउने काम गरिएको थियो। भने रेडियो राप्तीद्वारा गठित  समावेशी रेडियो राप्ती स्रोता क्लवको आयोजनामा राप्ती गाउँपालिकाको भालुवाङ, लालमाटिया, सिसहनियाँ र पत्थरगढवा चौबाटो बजारमा नाटक प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे