दाङमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण फैलिन नदिन भारतीय नाकामा कडाइ



दाङमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण फैलिन नदिन भारतीय नाकामा कडाइ

दाङ २० मंसिर । दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण फैलिन नदिनका लागि भारतसंग सिमाना जोडिएका नाकामा सुरक्षा सर्तकता कडा पारिएको बताए । नेपाल सरकारले निर्देशन दिए अनुरुप छिमेकी जिल्लासंग सिमाना जोडिएका स्थानमा स्वास्थ्य सुरक्षा सर्तकतालाई कडा पारिएको प्रमुख रेग्मीले बताएका हुन् ।

जिल्लामा ओमिक्रोनको संक्रमण फैलिन नदिनका लागि भारतको नाकासंग जोडिएको कोलाबास नाकामा हेल्थ डेस्क स्थापना, नाकामा रहेका सुरक्षाकर्मी, स्वास्थ्य संस्था र सो सिमानासंग जोडिएका पालिकाहरुलाई सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको उनको भनाइ छ ।

‘‘नेपाल सरकारले ९ वटा अफ्रिकन राष्ट्रबाट नेपाल प्रवेश गर्ने र जाने व्यक्तिहरुलाई निगरानी राख्नु, आएकाको परिक्षण गरेर आइसोलेसनमा राख्नु, अन्य नाकाहरुबाट पनि आउन सक्ने सम्भावनालाई मध्यनजर गरेर कडा निगरानी राख्नु र अभिलेख राख्नु भन्ने निर्देशन छ, त्यसै अनुरुप हामीले पनि जिल्लामा भारत संग सिमाना जोडिएका नाकामा सुरक्षा सर्तकतालाई कडा पारेका छौं, प्रमुख रेग्मीले भने ।’’

त्यस्तै उनले हालसम्म जिल्लामा कुनै पनि त्यस्तो प्रकृतिको ‘केस’ नआएको बताए । भारतबाट नेपाल प्रवेश गर्नेलाई निगरानीमा राख्नुका साथै एटिजेन्ट परिक्षणका लागि व्यवस्था मिलाएको उनले बताए । ‘अन्य जिल्ला (बाँके, बर्दिया, कपिलबस्तु) को हकमा भने उहाँहरुले नै अभिलेख राख्नु भएको छ र त्यसको अभिलेख हामीलाई पठाउनु हुन्छ उनले भने ।’

त्यस्तै जिल्ला भित्र पनि ‘ओमिक्रोन’ फैलिन सक्ने दृष्टिगत गरेर पहिलो चरणमा आजै सोमबार जिल्लाका स्वास्थ्यकर्मीहरुसंग छलफल गर्न लागेको जानकारी दिए । दोस्रो चरणमा जिल्लाको अवस्थालाई मध्यनजर गरेर डिसिएमसीको बैठक बस्ने र डिसिएमसीको निर्णयानुसार गाउँपालिका र सञ्चारकर्मीहरुलाई जनचेतनामुलक कार्यक्रम गर्ने प्रमुख रेग्मीले बताए ।

जिल्लामा ओमिक्रोनको भयावह अवस्था हुने सम्भावना अझै पनि छैन, त्यसैले अहिले नै डराउनु पर्ने अवस्था छैन् । यदि त्यस्तो भयावह अवस्था आएको खण्डमा पनि त्यसको पूर्वतयारी रहेको उनले बताए । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ स्थलगत मार्ग भन्दा पनि हवाईमार्गबाट फैलिने सम्भावना बढी भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे