दाङको घोराहीमा ३ दिने विज्ञान पत्रकारिता तालिम सुरू
दाङ १६ जेठ । प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले ज्ञान, विज्ञान र प्रविधिको सही विकास तथा प्रयोगले समाजलाई मिथ्या सूचना (फेक न्युज) र भ्रामक प्रचारबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखा र विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन मन्त्रालयको संयुक्त आयोजनामा शनिबार देखि दाङको घोराहीमा सुरु भएको तीन दिने विज्ञान पत्रकारिता तालिम उद्घाटन गर्दै प्रमुख अतिथि गौतमले पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै सूचना प्रवाह सहज बने पनि त्यसको दुरुपयोगका कारण मिथ्या सूचना फैलिने क्रम बढेको बताए । उनले सूचना प्रविधिको युगमा पत्रकारहरूको भूमिका अझ जिम्मेवार बन्दै गएको उल्लेख गर्दै सत्य, तथ्य र प्रमाणमा आधारित पत्रकारिताले मात्र समाजलाई सही दिशामा लैजान सक्ने धारणा राखे । “ज्ञान र प्रविधिको विकाससँगै मानिसहरूमा चेतना वृद्धि हुन्छ। चेतनशील समाजले सत्य र असत्य छुट्याउन सक्छ। त्यसैले मिथ्या सूचनाबाट बच्न विज्ञान, प्रविधि र ज्ञानको विस्तार अपरिहार्य छ,” गौतमले भने।
उनले सामाजिक सञ्जाल र डिजिटल माध्यमको बढ्दो प्रयोगसँगै अपुष्ट तथा भ्रामक सामग्रीहरू तीव्र गतिमा फैलिने गरेको उल्लेख गर्दै यस्ता गतिविधिले समाजमा भ्रम, अन्योल र अविश्वास सिर्जना गर्ने बताउनुभयो। पत्रकारहरूले तथ्यको गहिरो अध्ययन, अनुसन्धान र प्रमाणिक स्रोतको प्रयोग गरेर समाचार सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिए। गौतमले विज्ञान पत्रकारिता अहिलेको आवश्यकता भएको बताउँदै विज्ञान तथा प्रविधिसँग सम्बन्धित विषयलाई आम नागरिकसम्म सरल र बुझिने भाषामा पुर्याउन पत्रकारहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। विज्ञान पत्रकारिताले केवल वैज्ञानिक खोज र आविष्कारको जानकारी मात्र नदिई समाजमा वैज्ञानिक सोचको विकास गर्न समेत सहयोग पुग्ने उनको भनाइ थियो।
“समाजमा विभिन्न किसिमका अफवाह, अन्धविश्वास र भ्रमहरू अझै विद्यमान छन्। यस्ता प्रवृत्तिलाई हटाउन वैज्ञानिक चेतना आवश्यक छ। विज्ञान पत्रकारिताले वैज्ञानिक तथ्य र प्रमाणका आधारमा जनतालाई सुसूचित बनाउने भएकाले यसको महत्व दिनप्रतिदिन बढ्दै गएको छ,” उनले भने। उनले पत्रकारहरूलाई नयाँ प्रविधि र डिजिटल उपकरणहरूको प्रयोगमा दक्ष बन्न आग्रह गर्दै प्रविधिको सकारात्मक उपयोगबाट समाचारलाई अझ प्रभावकारी, विश्वसनीय र तथ्यपरक बनाउन सकिने बताए। पत्रकारिता क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई), डाटा विश्लेषण, डिजिटल अनुसन्धान र मल्टिमिडिया प्रविधिको प्रयोग बढ्दै गएकाले समयअनुसार आफूलाई अद्यावधिक गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षमा भएको तालिममा प्लानेटेरियम, वेधशाला तथा विज्ञान संग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्मा, केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयका प्रमुख प्रा. डा. कुन्दन अर्याल, पत्रकारिता तथा आमसंचार विभाग, रत्नराज्य लक्ष्मी क्याम्पसका विषय विज्ञ ऋषिकेश दाहाल, विषय विज्ञ टंक प्रसाद उप्रेतिले विभिन्न विषयमा प्रशिक्षण दिने छन् । सहजीकरणका क्रममा विज्ञान पत्रकारिताको अवधारणा, वैज्ञानिक विषयको समाचार लेखन, सूचना प्रविधिको प्रयोग, डिजिटल सुरक्षा, तथ्य परीक्षण (फ्याक्ट चेकिङ), कृत्रिम बौद्धिकता तथा विज्ञान र सञ्चारबीचको सम्बन्धका विषयमा प्रशिक्षण दिइने जनाइएको छ।
तालिममा दाङ जिल्लाभरका ७० भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको छ। सहभागी पत्रकारहरूले विज्ञान तथा प्रविधिसँग सम्बन्धित विषयवस्तुलाई समाचारका रूपमा कसरी प्रस्तुत गर्ने, अनुसन्धानमूलक पत्रकारितामा विज्ञानको भूमिका, तथ्य परीक्षणका विधि तथा डिजिटल माध्यममा फैलिने भ्रामक सूचनाको पहिचान र नियन्त्रणका उपायबारे जानकारी प्राप्त गर्नेछन्। तालिम उद्घाटन कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ दाङ शाखाका जिल्ला सचिव जेन सागरले गरेका थिए । तालिम जेठ १८ गतेसम्म सञ्चालन हुनेछ।
