काँग्रेस दाङ जिल्ला सभापतिमा ६ जनाको नाम चर्चामा



काँग्रेस दाङ जिल्ला सभापतिमा ६ जनाको नाम चर्चामा

तुलसीपुर ९ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत मंसिर ११ गते जिल्ला अधिबेशन तोकिएको छ । मंसिर १० गते मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ । तर, बिभिन्न नेताहरुले नेतृत्वको लागि आकाँँक्षा ब्यक्त गरेपछि बिहीबार दुबै प्यानलबाट एउटै प्यानल दिने प्रयास संभव भएन ।

जिल्लामा संस्थापन र संस्थापन इतर दुबै समुह आफ्नो तर्फबाट सकभर एउटै उम्मेदवार बनाउन कसरतमा बिहीबार दिनभर तल्लिन भएपनि सहमति कायम हुन सकेन ।

संस्थापनको तर्फबाट तीन आकाँक्षी

फरककोणलाई जिल्लाका एक शिर्ष नेताले दिएको जानकारी अनुसार संस्थापनबाट तीन जनाले सभापतिका लागि आकाँक्षा देखाएका छन् । संस्थापनबाट भूपबहादुर डाँगी, जानकी लाल बस्नेत र पूर्व माननिय तथा पूर्व जिल्ला सभापति गेहेन्द्र गिरीले सभापतिमा आकाँक्षा ब्यक्त गरेका छन् ।

‘हामी दिनभर दिनभर बसेर मिलाउन प्रयास गरेपनि सहमति कायम हुन सकेन,’ ती नेताले भने ‘ अब शुक्रबार मनोनयन दर्ता गर्नु भन्दा पहिलासम्म हामी टिमबाट सकभर एउटै नाममा सहमति जुटाउन प्रयास गर्ने छौं।’ यदी एक जना ब्यक्तिमा सहमति कायम हुन नसके तीनै जना नेताहरु सभापतिमा संस्थापनको तर्फबाट भिड्न सक्ने उनले बताए । जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का लगाएतका नेताहरु दिनभर एउटै नाम दिने कसरतमा लागेपनि सहमति कायम हुन नसकेको ती नेताले बताए ।

संस्थापन इतरबाट को–को ?

जिल्लाको नेतृत्व हत्याउन संस्थापन इतर पक्षले पनि एउटै नाममा सहमति कायम गर्न गरेको प्रयास सफल भएन । बिहीबार बिहान मात्रै जिल्ला सचिव शंकरप्रशाद डाँगीले आफूले जिल्ला सभापतिमा उम्मेदवारी दिने बताइ सकेका छन् ।

स्रोतका अनुसार नेताहरु खगराज पाण्डे र कमल किशोर घिमिरे पनि सभापतिका आकाँक्षी रहेका छन् । तीनै जनाले आ–आफ्नो दाबी प्रस्तुत गरेपछि एउटै नाममा सहमति खोज्ने प्रयास बिहीबार संभव नभएको र त्यो प्रयास जारी नै रहने एक नेताले बताए ।

गृह जिल्ला दाङमै रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी बिहीबारदेखि घोराहीमा बसेर सहमति कायम गर्न प्रयास गरिहेको ती नेताले जानकारी दिए । सहमति कायम हुन नसके संस्थापन इतरबाट पनि तीनै जना सभापतिका लागि भिड्न सक्ने अवस्था आउन सक्ने ती नेताले बताए ।

दुबै टिमबाट सबै नेताहरु टसको मस नभए पहिलो चरणको निर्वाचनबाट जिल्ला नेतृत्व टुँगा नलाग्न सक्छ । त्यस्तो अवस्था रहे दोस्रो चरणको निर्वाचनबाट मात्रै जिल्ला सभापतिको टुँगो लाग्ने अवस्था सृजना हुने ती नेताले संभावना औंल्याए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे