ऐरावती क्याम्पसमा स्वागत कार्यक्रम सम्पन्न, डिग्री कक्षा सञ्चालनको माग



ऐरावती क्याम्पसमा स्वागत कार्यक्रम सम्पन्न, डिग्री कक्षा सञ्चालनको माग

लालमटिया १८ असोज । देउखुरीको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा सोमवार स्वागत कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत वि.वि.एस र वि.एड दोस्रो, तेस्रो र चौथो वर्षका विद्यार्थीहरुले वि.वि.एस र वि.एड प्रथम वर्षका विद्यार्थीहरुलाई फूलमाला र टिका लगाएर स्वागत गरेका थिए ।

विद्यार्थी धुव्र बेल्वासेको अध्यक्षता एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले क्याम्पसमा डिग्री कक्षा सञ्चालनको माग गरेका छन् । उनीहरुले डिग्री पढ्नका लागि घोराही, बुटवल जानुपर्ने र धेरै खर्च लाग्ने भएकाले पनि आफ्नै क्याम्पसमा डिग्री कक्षा सञ्चालन हुनुपर्ने माग गरेका हुन् ।

विद्यार्थी गिता भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष केशवराज खनाल, क्याम्पस प्रमुख विष्णुप्रसाद भुसाल, साहायक क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली, पत्रकार महेश रिजाल, पुर्व स्वभियु सभापती अशोक बेल्वासे, विद्यार्थीहरु सुशिला आचार्य, विरेन्द्र गिरी, दिपा राना लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न प्रतियोगिता समेत आयोजना गरिएको थियो जस अन्तरगत कविता तर्फ गिता भट्टराई प्रथम, दिपा राईमाझी दोस्रो र हिरा भण्डारी तेस्रो भएका थिए । त्यस्तै गायन तर्फ मनिषा गाह प्रथम, शिशिर केसी दोस्रो र निशा कुमाल तेस्रो भएका थिए भने नृत्य तर्फ निशा कुमाल प्रथम र सन्जु चौधरी, अनिता चौधरी दोस्रो भएका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थी सविन शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे