जनगणनाको पहिलो चरणको सूचीकरणको काम आज सकिँदै, मूल गणनामा लिपुलेक पनि समेटिने



जनगणनाको पहिलो चरणको सूचीकरणको काम आज सकिँदै, मूल गणनामा लिपुलेक पनि समेटिने

काठमाण्डाै १८ असाेज । राष्ट्रिय जनगणना अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरणको काम आज सकिँदै छ । जनगणना अन्तर्गत पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम गएको भदौ ३० गतेदेखि सुरु भएको थियो ।

पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम भने ९० प्रतिशत मात्रै सकिने भएको छ।  बाँकी रहेको काम दुई/चार दिनमा सकिने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार सबैजसो जिल्लामा सूचीकरणको काम आंशिक रुपमा बाँकी छ ।  अहिलेसम्म घरपरिवारको सूचीकरण ५० लाखको सङ्ख्यामा मात्र आएको छ ।  गाउँ-गाउँमा खटिएका गणकले सङ्कलित सूचना पठाउन बाँकी नै रहेकाले सबै विवरण केन्द्रमा आइसकेको छैन ।

ग्रामीण क्षेत्रमा यातायातको असुविधासँगै इन्टरनेट तथा सञ्चार सेवाको समस्या हुँदा र कतिपय गणकहरु बिरामी भएकाले पनि सङ्कलित विवरण आउन ढिलाइ भएको हो । अहिले  देशभर ७० लाख घरपरिवार भएको अनुमान गरिएको छ ।

यस्तै, पहिलो चरणको घर परिवार सूचीकरणमा नेपालको नयाँ चुच्चे नक्सामा परेका महाकाली पारिको लिपुलेक र कालापानी क्षेत्र छुटेको छ । सुपरिवेक्षण पठाउनै आनाकानी गर्दा महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घरपरिवार सूचीकरण हुन नसकेको हो ।

भारतको बाटो भएर जानुपर्ने तर सरकारले त्यो बाटो प्रयोग गर्न नभनेकाले सुपरिवेक्षक नै पठाउन नसकिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए।

उहाँका अनुसार मूल गणनामा भने जसरी पनि लिपुलेक र कालापानी क्षेत्रलाई समेट्ने तयारी छ । मूल गणनामा भौतिक रुपमा उपस्थित हुन नसके पनि अरु विभिन्न उपाय अपनाएर गणना गरिने उहाँले बताउनुभयो। यो क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन ।

मूल गणनाका लागि कुटनीतिक पहल समेत भइरहेको छ । निर्धारित कार्यतालिकाअनुसार मूल जनगणना आउँदो कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे