नेपालकाे सर्वाधिक धनराशीको इपिएल आजदेखि शुरू हुँदै, १३ देशका विदेशी खेलाडीले खेलमा भाग लिँदै



नेपालकाे सर्वाधिक धनराशीको इपिएल आजदेखि शुरू हुँदै, १३ देशका विदेशी खेलाडीले खेलमा भाग लिँदै

दाङ भदाै ९ । घरेलु फ्रेन्चाइज क्रिकेट प्रतियोगिताकै सर्वाधिक धनराशि भएको एभेरस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता शनिबारदेखि हुँदै छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियुमा चौथो संस्करणको इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा पाँच दिन दुई खेल हुनेछन् । आजकोे उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्र्स र काठमाडौं किंग्स इलाभेनबीच प्रतिस्पर्धा हुनेछ ।

राउन्ड रोविन लिगका शीर्ष चार टोली क्वालिफायर चरणमा छनोट हुनेछन् । पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ । यो खेलबाट पराजित भएको टोली र चौथो स्थानमा रहेको बीच खेल हुनेछ ।

यस खेलको विजेताले फाइनल स्थान बनाउनेछ । यसपटकको इपिएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक इपिएलले जनाएको छ । घरेलु फ्रेन्चाइज लिगमा च्याम्पियन टोलीले ५० लाख धनराशि पाउन लागेको यो पहिलोपटक हो ।

यद्यपि, धनगढी र पोखरा प्रिमियर लिग हुन बाँकी नै छ । सम्भवत इपिएललाई चुनौती दिन पनि धनगढी र पोखराले विजेता धनराशि बढाउने अनुमान गरिएको छ । इपिएलको मुख्य प्रायोजकका रूपमा बजाज पल्सर रहेको छ ।

इपिएलको चौथो संस्करण सन् २०१९ मा हुनुपर्ने थियो । त्यसवेला राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय क्यालेन्डरमा निकै व्यस्त भएका कारण नै इपिएल स्थगित भयो । त्यसपछि सन् २०२० मा इपिएल गर्न कोसिस भयो । तर, कोरोना भाइरसको महामारीका कारण आयोजकले इपिएल अन्तिम समयमा स्थगित गर्यो ।

इपिएलको इतिहासमा ललितपुर सर्वाधिक सफल टोली हो । पहिलो र तेस्रो संस्करण ललितपुरले हात पारेको थियो । ललितपुरले तेस्रो संस्करणको उपाधि जित्दा कप्तान ज्ञानेन्द्र मल्ल कप्तान थिए ।

तर, यसपटक व्यक्तिगत कारण देखाउँदै मल्लले प्रतियोगिता सुरु हुनु तीन दिनअघि मात्र इपिएल नखेल्ने घोषणा गरेका छन् । ललितपुरले उनको स्थानमा कुशल भुर्तेललाई कप्तानीको जिम्मेवारी दिएको छ ।

घरेलु क्रिकेटमा नाम चलेका खेलाडीकै कप्तानीमा टोली मैदानमा उत्रनेछ । काठमाडौं किंग्सका कप्तान सन्दीप लामिछाने, पोखरा राइनोजका कप्तान विनोद भण्डारी तथा विराटनगर वारियर्सका कप्तान करण केसी हुन् ।

इपिएलमा विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्ल्याडिएटर्सले प्रतिस्पर्धा गर्नेछन् ।

१३ देशका विदेशी खेलाडी
धनगढी र पोखरा प्रिमियर लिग सञ्चालन हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाएका क्रिकेटर पनि सहभागी हुन्छन् । तर, यी दुवै लिगका दाँजोमा इपिएलमा विश्व चर्चित खेलाडी अनुबन्धित हुनु नै यसको मुख्य विशेषता मानिएको छ ।

यसपटकको इपिएलमा कुल १३ देशका खेलाडीले भाग लिँदैछन् । जसमध्ये हाईप्रोफाइल खेलाडी पाकिस्तानका पूर्वकप्तान तथा अलराउन्डर साहिद अफ्रिदी हुन् । अफ्रिदीले दुई खेल खेल्नेछन् ।

उनीबाहेक अन्य विदेशी खेलाडीले पनि प्रतिस्पर्धा गर्नेछन् । बंगलादेश, श्रीलंका, मलेसिया, जिम्बाबे, वेस्ट इन्डिज, क्यानडा, अफगानिस्तान, पाकिस्तान, सिंगापुर, इंग्ल्यान्ड, भुटान र दक्षिण अफ्रिकाका खेलाडी इपिएलमा देखिनेछन् ।

बंगलादेशी राष्ट्रिय टोलीबाट खेलिसकेका तमिन इक्वाल, श्रीलंकाका उपल थरंगा, धम्मिका प्रसाद, सिकुगे प्रसन्नाजस्ता अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका खेलाडी पनि छन् ।

अफगानिस्तानलाई एकदिवसीय तथा टेस्ट मान्यता दिलाउन ठूलो भूमिका निर्वाह गरेका विकेटकिपर ब्याट्सम्यान मोहमद सेहजाद पनि छन् । इपिएलमा सहभागी हुन विदेशी खेलाडी नेपाल आइपुगेका छन् ।

अफ्रिदीले १० नम्बर जर्सी लगाउने

काठमाडौंमा आबद्ध अफ्रिदीले १० नम्बरको जर्सी लगाउने भएका छन् । काठमाडौंले शुक्रबार सबै खेलाडीसहित जर्सी सार्वजनिक गर्दा १० नम्बरको जर्सी पाएका हुन् । २० वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा अफ्रिदीले १० नम्बरकै जर्सी लगाएका थिए ।

अफ्रिदीले नेपालको छोटो बसाइ हुने भए पनि यहाँको आतिथ्यबाट प्रभावित भएको बताएका छन् । ‘नेपाल आएको दुई दिन मात्र भयो, तर म यहाँको अतिथिलाई गर्ने स्वागतबाट दंग परेको छु,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अफ्रिदीले भने ।

अमेरिकामा जानुपर्ने भएकाले योपटकको इपिएलमा छोटो यात्रा भएको उनको भनाइ छ । ‘अमेरिका जान नपरेको भए म चौथो संस्करणको इपिएल पूरै खेल्ने थिएँ, तर अर्कोपटक म पुरै इपिएल खेल्ने गरी आउनेछु,’ उनले भने ।

नेपालको क्रिकेट तथा सम्बन्ध विकास गर्नकै लागि आफू इपिएलमा अनुबन्धित भएको अफ्रिदीको भनाइ छ । ‘नेपालको क्रिकेट विकास र दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन नै आएको हुँ,’ नेपाल आउनुको कारण बताउँदै उनले भने, ‘तपाईंहरू नेपाली क्रिकेटको विकासबारे जहिले सहयोग माग्नु हुन्छ म तयार छु ।’

यसैगरी काठमाडौंका कप्तान सन्दीप लामिछानेले अफ्रिदीजस्तो विश्व चर्चित खेलाडीको उपस्थितिले टोलीमा थप ऊर्जा मिलेको जनाए । ‘विश्व क्रिकेटमै नाम कमाएका अफ्रिदी हाम्रो टोलीमा छन्, अहिले अन्य युवा खेलाडीको मनोबल नै उच्च भएको छ,’ सन्दीप भन्छन्, ‘योपटक हामीले राम्रो तयारी गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे