सिमानाले छेकेको एउटा प्रेम कथा



सिमानाले छेकेको एउटा प्रेम कथा

एउटै भूगोल, एकै प्रकृति हुँदैगर्दा पनि सिमानाले मेरो अनुभूतिलाई कसरी फरक पार्‍यो ? बाफको रचना गर्भ यही हो । त्यसबेलामा म यात्रामा निस्केको थिएँ । पाइलाभर उता भारत र यता नेपालको जमिन थियो । तर, यसै हेर्दा निकै परसम्म फैलिएको भुटानसम्मको डाँडा, अनि यता नेपालतिरको डाँडा अनि आकाश कतै पनि छुट्टएिको थिएन ।

हुस्सु आफ्नै लयमा गतिशील हुँदै वातावरणसँग मिलिरहेको थियो । एक सुन्दर दृश्य थियो त्यो । यसैक्रममा होटल, यात्रामा सानातिना गफहरूमा सुनिने साना किस्साहरू, देखिने पात्रहरू । मेरो कथाको विषयवस्तु झण्डैझण्डै त्यतिबेलासम्म बनिसकेको थियो ।

जौबारी, सन्दकपुर पहिलोपटक जाँदा त्यहाँको आफ्नै माहोल थियो । पाँच वर्ष पहिले हामी घुम्न गएका थियौँ । त्यसबेला बिहान सूर्योदय हेर्‍यौँ । कञ्जनजंघा हिमाल नै सुनौलो हुने सूर्योदयको त्यो केही पल साँच्चै सुन्दर थियो । यी देखिने कुरा भए तर मलाई होटल सञ्चालन गर्ने मानिसहरूप्रति त्यसबेला चासो भयो । नेपाली झण्डा फरफराइरहेको त्यो होटलको के कथा होला ?

हरेक कुराहरू भनेको सिकाइ हो । कतिपय कुरा म आफैँमा पनि सिक्ने क्रममा छु । कतिपय कामहरू आफ्नै जीवनको लागि अनुसन्धान सरह रहन्छ । कथा भन्नको लागि लोकेसन जति महत्वपूर्ण छ प्रयोग गर्न जान्दा त्यति नै शक्तिशाली पनि । यसपटक लोकेसनलाई मैले अलि बढी खोजेको भनेको चैँ यसले मानवीय संवेदनालाई पार्ने प्रभावसँग हो । थोरै सिनेमेटिक एप्रोच पनि थियो ।

अलिकति सहज भएर ठाडो भाषामा भन्नुपर्दा थोरै सुन्दर कसरी देखाउन सकिएला भन्ने कुरा एउटा थियो । अर्को दार्शनिकरूपमा मानिसहरूलाई जोड्न सकिन्छ भन्ने पनि । कतिपय कुराहरू भने आपसेआफ सुटिङ्गकै क्रममा विकास हुने कुरा पनि हुन् । यद्यपि, यी सबै कुरा लोकेसनले दिने कुरा हुन् । साँझ र बिहान । दिन र रात । यी बेला काम गर्नुको आफ्नै मजा छ तर यही समयले समेत कथालाई भिडियोमा देखाउँदै गर्दा अनेकन आयामहरू थपिदिइरहेका हुन्छन् ।

तर यसको श्रेय सिर्फ मैले मात्र गरेँ भन्दा अन्याय हुन्छ । दोस्रोपटक मसँग कथा भए पनि म आफैँ धेरै कुरासँग जानकार थिइनँ । सुजन -चापागाईँ) सँग हामी सन्दकपुर गयौँ । जुन कथामा हामी अनुभूतिलाई बुनिरहेका छौँ त्यसको लागि संगीत कल्पना गरेर हुने चिज हो होइन होला, थाहा छैन तर अनुभूतिको सवालमा हामीले वास्तविक स्पेसकै प्रयोग गर्‍यौँ ।

चिसो मौसममा ती स्थानहरूलाई गरिएको अनुभूतिले पक्का फरक पार्छ नै । मैले मेरो स्किृप्ट सकाएँ र सुजनले गीतको कम्पोजिसन । हर्क दाई शब्द लेख्नलाई आउन नसकेपनि वहाँलाई हामीले दैनिक आफूले देखिरहेका दृश्यहरूको फोटो, भिडियो पठायौँ । छतमा बसेर वहाँले पनि आफ्नो लिरिक्स सक्नुभयो । वहाँकै ठट्यौलीमा पारामा भन्दा ‘घाम ताप्दै’ ।

प्रेमलाई सीमाहरूले प्रभाव पार्दैन भन्ने कुरा मेरा लागिचाहिँ पत्याउन गाह्रो छ । नेपाल भाषी भएर पनि हाम्रो नागरिकता फरक छ, हामीले लड्ने अधिकारहरूको सवाल फरक छ

प्रतापसँग आर्टमाण्डुको सम्बन्ध पुरानो हो । उसँग नजिकको सम्बन्ध पनि छ । तर यसमा चिनेकै कारणले ऊ यो प्रोजेक्टसँग जोडियो भन्ने होइन । चिन्नु पनि अलि गहिरो अर्थ लाग्छ होला । मेरो कल्पनामा जस्तो पात्रको चित्र आइरहेथ्यो त्यसमा प्रताप एकदमै मिल्न जान्थ्यो । ऊ अभिनयमा पक्का नयाँ कलाकार त हो तर गर्नै सक्दैन भन्ने हैन । कतिपय कुरामा परिचयले पनि धेरै कुरासँग परिचित गराउँछ । प्रतापसँग भएको सानो घटना यति हो ।

सायद उसले नकारेर सक्दिनँ भनेको भए म कोही अरूलाई राख्थें होला तर उसले पनि नाई भनेन । शायद अभिनय पेसामै आबद्ध कोही अरु प्राथमिकतामा हुन सक्थे होला । तर पात्रको कल्पना गर्दा कलाकारको चित्र पनि आउनुपर्छ । यसमा धेरै ठूलो घटना केही छैन । प्रतापको कामसँग हाम्रो टिम असन्तुष्ट छैन ।

यही कुरालाई जोड्दा पनि हाम्रा धेरै कलाकारहरू स्थानीय व्यक्तिहरू नै हुनुहुन्छ । किनकि वहाँहरू त्यहाँको परिवेश, राजनीति, सामाजिक घटनाक्रमसँग परिचित हुँदा हामीलाई यी कुराहरू ब्रिफिङ्ग गर्नभन्दा धेरै सहयोग मिलिरहेको हुन्छ । जस्तो हामीलाई चाहिने धेरै प्रप्सहरू वहाँहरूले नै उपलब्ध गराइदिनुभएको हो । यसको एउटा सानो किस्सा सुनाउँछु ।

हाम्रो कथामा केटी पात्रलाई श्रृङ्गारको लागि कोठा चाहिरहेको थियो । हामीले पाउन सकिरहेका थिएनौँ । यसको लागि त्यहाँका स्थानीयवासीले आफ्नै पूजा कोठा उपलब्ध गराइदिनुभयो ।

आर्टमाण्डुको भावी योजनामा फिल्म निर्माण अवश्य पर्छ र यसको लागि स्थानीयसँग पर्यटक जसरी व्यवहार गरेर हाम्रो मात्र काम निकालेर हुँदैन । वहाँहरूलाई पनि अधिकतम् जोडेर काम गर्न आवश्यक छ । र यसको अभ्यास हामीले सुरुवाती दिनबाटै गर्ने गरेका छौँ । थोरै असहजता कुरा स्वाभाविक हो तर अपनत्वको सवालमा यो तरिकाले हाम्रो काम वहाँहरूको पनि हुनजान्छ ।

मैले भनीसकेँ कि परिचयले धेरै कुरासँग परिचित गराउँछ । हामी बाफको टिममा जो जो छौँ, उनीहरूसँगको चिनजान निकै पुरानो हो । हामी एकअर्काको कामसँग परिचित छौँ । दैनिक जीवनमा हुने हाँसिमजाक वा हुने गम्भीर गफ ती सबमा हामीले एक अर्काको काम गर्ने शैली, क्षमतासँग नजिकिन पाएका छौँ । यो फेरिपनि टिमवर्क हो ।

हरेक कामले हामीलाई केही न केही सिकाएको छ । ‘के माया लाग्छ र’ गर्दैगर्दा जति कुरामा स्पष्ट थियौँ, त्यति नै धेरै कुराहरू छुटेका पनि थिए । ‘तीनपाते’मा हामीले केही नयाँ गर्न खोज्यौँ । तर यसलाई हाम्रो टिमले नवीन कुरा दियो भन्ने हैन । यसमा अझै पनि हामी सिकिरहेका छौँ । र, सिकाइको श्रृङ्खला रोकिन्न नै । काम गर्दै गर्दा के कुरामा हामी बेस्ट दिन सक्छौँ, त्यो एकदम महत्वपूर्ण पक्ष हो । अब बेस्ट दिएपछि यसप्रति भावना आउनु पनि स्वाभाविक हो । यद्यपि, कहिलेकाँही सोचेजस्तो नहुन सक्छ । तर यसैमा निराश हुनुपर्छ भन्ने छैन ।

आर्टमाण्डुको सुरुवातको पृष्ठभूमि नै यही हो । हामी यहाँसम्म आउनको लागि गरेको यात्रा लामो प्रयासहरू प्रतिफल हो ।

हाम्रोमा विभिन्न प्रकारका बहसहरू चलिरहेकै छन् । हुर्काइको फरक पृष्ठभूमिका कारण मेरो आफ्नै बुझाइ बनेको छ । प्रेम भन्ने बित्तिकै हामी चोखो, पवित्र, ‘विथ आउट एनि रिजन’ भन्छौँ । त्यो आफैँमा पूर्ण सत्य हैन । प्रेम ‘विथ आउट एनि रिजन’ मात्र हुन सक्दैन । ‘अनकन्डिसनल’ हुन सक्छ । तर यसलाई सीमाहरूले प्रभाव पार्दैन भन्ने कुरा मेरा लागि चाहिँ पत्याउन गाह्रो छ । नेपाल भाषी भएर पनि हाम्रो नागरिकता फरक छ, हामीले लड्ने अधिकारहरूको सवाल फरक छ ।

गोर्खाल्याण्डको प्राप्ति नेपाल भाषी भारतीयको लागि जति अधिकारको आन्दोलन हो, नेपालीहरूले यसमा नैतिक समर्थन गर्न सक्छन् तर यसमा नागरिकतालाई भुलिहाल्न सक्दैनन् । देश बीचमा उभिन्छ ।

हाम्रो लागि जलस्रोतको दोस्रो धनी नेपाल भन्दै गर्दा उनीहरूको लागि आइटीको प्रमुख हाम्रो देशको नागरिक हो भन्ने हुन सक्छ । यो आन्तरिक कुरा हो । द्वन्द्वको कुरा हो तर मिल्ने नमिल्ने कुरामा उनीहरू बीचको मिलन नै प्रेम कथाको इन्डिङ्ग हुनुपर्छ भन्ने कुरासँग म पूर्णतः सहमत हुन सक्दिनँ । इन्डिङ्ग अझै पनि ओपन छ । मुटु नै छियाछिया बनाउने खालको बनाएको छैन । पात्रले निर्णय लिने अधिकार पात्रलाई नै छोडिएको छ ।

समग्रमा सिनेमा भनेको कथा हो भन्ने मात्र हुँदैन होला । यसमा मैले प्रयोग गर्न खोजेका सिनेम्याटिक एप्रोच, नेचुरल कलर, नेचुरल लाइट अनि भूगोल स्वयं पनि एक पात्र हो भन्ने पनि हुन्छ । त्योभन्दा बढी यसमा मानवको अस्तित्वहरू रहने पल, भावनाहरू पनि हुन् । जो यी कुराहरूसँग फरक फरक तरिकाले क्रिया प्रतिक्रिया गर्छन् । यी कुराहरूको खोजी पनि बाफले यसपटक अभिव्यक्त गर्न सघाएको छ ।

साभार : अनलाइन  खबर 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे