राप्ती चेम्बर अफ कमर्सको साधारणसभा तथा अधिवेशन सम्पन्न : अध्यक्षमा पुन अधिकारी चयन



राप्ती चेम्बर अफ कमर्सको साधारणसभा तथा अधिवेशन सम्पन्न : अध्यक्षमा पुन अधिकारी चयन

सिसहनियाँ २ असोज । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको प्रारम्भिक साधारणसभा तथा पहिलो अधिवेशन शनिवार राप्ती गाउँपालिका ५ सिसहनियाँमा सम्पन्न भएको छ ।

चेम्बरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रगति प्रतिवेदन महासचिव चुमबहादुर बुढाले प्रस्तुत गरेका थिए ।

महासचिव बुढाले आगामी आर्थिक वर्ष २०७८÷०७९ मा राप्ती गाउँपालिकाका मुख्य बजारहरु भालुवाङ, लालमटिया, मौरीघाट, पिपरी र सिसहनियाँ बजारमा फोहरमैला व्यवस्थापन गर्न गाउँपालिका सँग पहल गर्ने, कोभिढ १९ पुर्णहरुमा नियन्त्रणमा आए स्थानीय कला संस्कृतिको संरक्षणका लागि व्यापारीक तथा साँस्कृतिक महोत्सव सञ्चालन गर्ने, सिसहनियाँ बजारमा सार्वजनिक शौचालय निमार्ण गर्न र बन्द रहेको सडक बत्ती सञ्चालन गर्न गाउँपालिका सँग पहल गर्ने, नियमित सरसफाई र व्यापारीहरुको हकहितको क्षेत्रमा काम गर्दै उनीहरुलाई विभिन्न किसिमको तालिम प्रदान गर्ने योजनालाई अगाडी सार्नु भएको छ । सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रेम बुढाथोकी र अध्यक्षको प्रतिवेदन कुमार अधिकारीले प्रस्तुत गरेका थिए ।

चेम्बरका प्रथम उपाध्यक्ष नेमलाल बेल्वासेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका उपाध्यक्ष श्रीधर महरा, राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरी, देउखुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल, प्रगतीनगर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शान्तराज शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश पार्षद महेश रिजाल, सल्लाहकार श्यामा रावत लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा चेम्बरमा पहिलाे व्यवसायी दर्ता गर्ने राप्ती गाउँपालिका ५ सिसहनियाँ निवासी टंकबहादुर केसीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

यसै बीच शनिवार नै भएको पहिलो अधिवेशनको बन्दसत्रले पुन कुमार अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको पहिलो उपाध्यक्षमा नेमलाल बेल्वासे, दोस्रो उपाध्यक्षमा श्यामा रावत, महासचिवमा शेषकान्त आचार्य, सचिवमा बसन्तबहादुर कुवर क्षेत्री, कोषाध्यक्षमा प्रेम बुढाथोकी रहेका छन् ।

यसै गरी सदस्यहरुमा जितेन्द्र गुप्ता, राजु विश्वकर्मा, तिलक ज्ञवाली, खेमराज अर्याल, अर्जुनकुमार क्षेत्री, सियाराम चौधरी, युद्धबहादुर भुसाल, धनीराम चौधरी र अशोक बेल्वासे रहेका छन् । बाँकी २ सदस्यीय पछि मनोनित गर्ने बताइएको छ ।

त्यसै गरी नयाँ कार्य समितिको शनिवारनै बसेको पहिलो बैठकले सल्लाहकार समेत चयन गरेको छ । जस अनुसार कानुनी सल्लाहकारमा हरि बेल्वासे, प्रेस सल्लाहकारमा ओमप्रकाश गुप्ता र सल्लाहकारमा चुमबहादुर बुढा, गोपाल खत्री, शान्तराज शर्मा रहेका छन् । त्यस्तै बैठकले असोज ३ गते सिसहनियाँ बजारमा बेलुका ६ बजे दिपप्रज्वलन गरी संविधान दिवस मनाउने र चेम्बरको नियमित वैठक प्रत्येक महिनाको १ गते बस्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे