धनुषाको एक निजी औषधि पसलमा कोरोना विरुद्धको खोप बरामद , दुई जना पक्राउ



धनुषाको एक निजी औषधि पसलमा कोरोना विरुद्धको खोप बरामद , दुई जना पक्राउ

जनकपुरधाम ३१ भदौ । धनुषाको एक निजी औषधि पसलमा कोरोना विरुद्धको खोप फेला परेको छ । शहीदनगर नगरपालिका–यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखेको कोरोना खोप फेला परेको हो ।

शहीदनगर नगरपालिकाको सुशासन समिति र प्रहरीले गरेको संयुक्त अनुगमनका क्रममा उक्त औषधि पसलबाट ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान अस्ट्राजेनेकाको खोप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए ।

खोप फेला परेपछि श्रीराम मेडिकलका सञ्चालक कमलेश मण्डललाई पक्राउ गरेको उनले बताए । मण्डललाई पक्राउ गरेर सोधपुछ गर्दा उनले एक जना स्वास्थ्यकर्मीले नै बेच्न दिएको बताएपछि ती स्वास्थ्यकर्मीलाई पनि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले बताए ।

‘हामीले म्याद गुज्रेका औषधि हेर्ने बहानामा तीनवटा औषधि पसलमा अनुगमन गर्‍यौं,’ उनले भने, ‘कोरोनाविरुद्वको खोप बेच्न राखेको पूर्व सूचनाको आधारमा हेर्दा मण्डलको पसलमा फेला परेको हो ।’

प्रहरीले बरामद गरेको काेरोनाविरुद्धको खोप फेला परेकामध्ये भेरोसेलका १ भाइल तथा अस्ट्राजेनेकाको भाइल खुलेको पाइएको उनको भनाइ छ ।  पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय यदुकोहामा राखिएको र थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे