एमालेकाे नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश



एमालेकाे नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश

काठमाडौं २३ भदौ । नेकपा एमालेको अवरोध र नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ । एमालेका सांसदले चर्को नाराबाजी गरे पनि गृह मन्त्री बालकृष्ण खाणले अध्यादेश पेस गरेका हुन् । अध्यादेश पेस भएसँगै संसद्को बैठक आउँदाे शुक्रवारसम्मका लागि स्थगित भएको छ ।

यसअघि एमालेका सांसदले अवरोध गरेपछि संसद् बैठक आज दुई पटकसम्म स्थगित भएको थियो । आजको तेस्रो बैठकमा गृह मन्त्रीले अध्यादेश पेस गरेका हुन् । एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै बैठक चल्न दिएका थिएनन् ।

एमालेका सचेतक विशाल भट्टराईले एमाले फुटाउने मनसायका साथ संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएकोमा आपत्ति जनाए । उनले सभामुखले माओवादी केन्द्रले सांसद हटाउँदा उनीहरूलाई तत्कालै पदमुक्तको सूचना दिइहाल्ने तर एमालेले १४ जना सांसद हटाउँदा वास्ता नगरेको भन्दै विरोध जनाए ।

नाराबाजीकै बीचमा सभामुखले आफूले संविधानले दिएको अधिकारअनुसार काम गरेको जवाफ दिँदै एमालेका सांसदहरूलाई संसद् बैठकभित्र के बोल्ने र के नबोल्ने भनेर मर्यादा स्मरण गराएका थिए।  यसैबीच संसद् बैठक भदाै २५ गतेसम्मका लागि स्थगित भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे