राप्ती गाउँपालिका दुई नम्बर वडा कार्यालयको भवन उद्घाटन



राप्ती गाउँपालिका दुई नम्बर वडा कार्यालयको भवन उद्घाटन

लालमटिया ७ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ को नवनिर्वित प्रशासनिक भवनको सोमवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

गाउँपालिकाको ९ वटा वडा मध्ये २ नम्बर वडाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेपनि सोमवार भवनको औपचारिक रुपमा उद्घाटन गरिएको छ । वडा नम्बर ४ र ९ वाहेकका वडाले आफ्नै भवनबाट सेवा दिन सुरु गरिसकेका छन् । अव वडा नम्बर ८ को कार्यालय भवन उद्घाटनको तयारीमा रहेको गाउँपालिकाले बताएको छ ।

शर्मा निर्माण सेवाले ८४ लाख १६ हजार ३ सय ३५ रुपैयाँको लागतमा समयावधी भित्रै निर्माण सम्पन्न गरेको छ । २ तल्ले भवनको तल्लो तलामा ४ कोठा र माथिल्लो तलामा ४ कोठा रहेको वडा अध्यक्ष जगतबहादुर थापाले जानकारी दिएका छन् ।

यसै बिच आर्थिक वर्ष २०७७÷७८ को सार्वजनिक सुनुवाई समिक्षा कार्यक्रम पनि सम्पन्न भएको छ । सार्वजनिक तथा समिक्षा कार्यक्रममा सहभागीहरुले पोके कृषि प्याकेज हटाउनु पर्ने, लक्षित वर्गको कार्यक्रमलाई पनि मुख्य कार्यक्रमको रुपमा समेटनु पर्ने, मदिरा नियन्त्रण गर्न ध्यान दिनुपर्ने, अधुरा योजनालाई पुरा गर्नुपर्ने, स्वमसेविकालाई बिमाको व्यवस्था गर्नुपर्ने, कृषि कार्यक्रममा बजेट बढाउनुपर्ने लगायत दर्जनौ गुनासा राखेका थिए ।

जिज्ञासाको जवाफ वडा अध्यक्ष जगतबहादुर थापा, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, कृषि शाखा प्रमुख महेश बेल्वासेले दिएका थिए ।

वडा अध्यक्ष जगतबहादुर थापाको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको विशिष्ट आतिथ्यतामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समेत गरिएको छ ।
भवनको उद्घाटन प्रमुख अतिथि सुवेदीले रिवन काटेर गरेका थिए ।

भवनको उद्घाटन गर्दै अध्यक्ष सुवेदीले जनप्रतिनिधी र कर्मचारीहरुलाई छिटो छरितो र मुस्कान सहितको सेवा दिन निर्देशन दिएका छन् । कार्यक्रममा वडा अध्यक्ष जगतबहादुर थापा, वडा सचिव सिता भण्डारी, वडा सदस्य लालबहादुर चौधरी, आदर्श नमुना माविका सहायक प्रअ यादव सुवेदी र लालमटिया स्वास्थ्य इकाईका प्रमुख कमला न्यौपाने विभिन्न विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा नेकपा माओवादी केन्द्रका राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी, राजमोका रमेशमान गुरुङ, वन महासंघ राप्ती गाउँपालिका अध्यक्ष हरिप्रसाद भुसाल, भृकुटी महिला विकास सहकारी संस्थाका अध्यक्ष हिमाली न्यौपाने, निगरानी समुहका अध्यक्ष मेनुका शर्मा, पुर्व शिक्षक विश्वराज आचार्य, उद्योगपती श्यामेश चौधरी, समाजसेवी पदम रिजाल, व्यवसायी राजकुमार तमाङ, जीवन पौडेल लगायतले बोलेका थिए ।

साथै स्वमसेविका र निमार्ण व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो । वडा सदस्य बसन्त नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव सिता भण्डारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे