मृत्यु मार्ग बन्दै लमही-घोराही सडक खण्ड



मृत्यु मार्ग बन्दै लमही-घोराही सडक खण्ड

लमही ७ भदौ । लमही–घोराही जोड्ने सडकखण्ड मृत्यु मार्ग बन्दै गएको छ । उक्त सडक खण्डमा दैनिक हजारौं सवारी साधन ओहोर–दोहोर गरिरहेका हुन्छन् । दैनिक हजारौँ गाडी ओहोर–दोहोर गर्ने सडक यती बेला भैंसी आहाल बस्ने जस्तो ठाउँ–ठाउँमा ठूला–ठूला खाडल बनेको छ । यसरी सडक खाडल बन्दा समेत न त सडक डिभिजनले ध्यान दिएको छ न स्थानीय सरकारले नै बाटो ममर्तको लागि चासो दिएका छन् ।

राजा महेन्द्रको पालामा निर्माण भएको पूर्वपश्चिम राजमार्गको कालोपत्रे वर्षौं हुँदा समेत जस्ताको त्यस्तै छ । जनताले जिताएर विकास निर्माण गर्न पठाएका जनप्रतिनिधिले निर्माण गरेको सडकको कालोपत्रे एक महिना नपुग्दै उप्किने, भत्किने के कारणले होला ? यी यस्ता प्रश्न जनताले गर्ने गरेका छन् । लमहीदेखि घोराही आउँदै गरेकी लमही नगरपालिका २ निवासी सुशिला केसीले बाटो बिग्रिएर हैरान छ, यो बाटो कसले बनाउने हो ? पहल गर्न पर्‍यो भनेर भनेकी छिन् । उनले अप्रेसन गरेकी छोरी छिन्, लिन जान लागेको बताउदै उनले कसरी घर पुर्‍याउने हो भन्ने चिन्ता लागेको बताइन् । ‘जता कतै बाटो खाल्डाखुल्डी छ कसरी घर पुर्‍याउने हो छोरीलाई उनले भनिन् ।’

लमहीदेखि घोराहीसम्मको सडक कालोपत्रे गरेको एकवर्ष नपुग्दै कतै भासिएको छ भने कतै उप्किएको छ । सडकको दाँयाबाँयाका धेरै भाग डरलाग्दो किसिमले भासिएको छ । यो सडकखण्ड गत आर्थिक वर्षमा मात्रै सम्पन्न भएको थियो । तर कमसल सामग्री प्रयोग गरेकै कारण कालोपत्रे उप्किएको छ । उक्त सडकखण्डमा कालोपत्रे गर्दा लगाईएका प्रायः नाला छेउका पर्खाल (वाल) पनि भत्किएका छन् ।

ठूला–ठूला खाल्डा खुल्डीहरू भएको कारणले सवारी साधन सञ्चालनमा समस्या उत्पन्न भएको सवारी चालकहरुले बताउने गरेका छन् । लमहीबाट घोराही पुग्न २३ किलो मिटरको दुरी छ तर त्यहाँ पुग्दासम्म यात्रुले निकै सास्ती खेप्नु परेको छ । ठूला-ठूला खाल्डाखुल्डीकै कारण सवारी दुर्घटनाको जोखिम उत्तिकै बढेको छ ।

गएको आर्थिक वर्ष २०७६/०७७ मा लमही-घोराही सडकखण्ड अन्र्तगत पर्ने २३ किलोमिटर सडक मर्मतको लागि सडक डिभिजन कार्यालय दाङले ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट भास्सिएको तीन किलोमिटर क्षेत्रमा पक्की ‘वाल’ लगाउने, कालोपत्रे उप्किएको र दायाँ बायाँ नाला मर्मतको काम सम्पन्न भएको थियो भने १६ किलोमिटर सडक क्षेत्रको बिचमा भास्सिएको नाला मर्मत र खाल्डाखुल्डी पुर्ने काम भएको थियो । कालोपत्रे भएको सडकमा दर्जनभन्दा बढी पक्की ‘वाल’ निर्माण गरिएको थियो । अहिले ती पक्की ‘वाल’ भासिनुका साथै कालोपत्रे उप्किएका छन् ।

त्यस्तै सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुवेदीले मालवाहक सवारी र टिप्परले ओभर लोड सामान ओसारपसार गरेका कारण प्रत्येक वर्ष यस्तो समस्या आउने गरेको बताए । उनकाअनुसार सडकको क्षमताभन्दा बढी सवारी साधनले ओभर लोड ढुवानी गर्ने गरेकोले प्रत्येक वर्ष यस्तो समस्या आउने र यात्रुहरुले सास्ती खेप्नु परेको सुवेदीले बताए । साथै उक्त सडक मर्मतका लागि चालूआर्थिक बर्षमा ३० लाख बजेट विनियोजन गरिएको छ ।

‘लमही-घोराही सडकखण्ड मर्मतका लागि यस वर्ष ३० लाख बजेट विनियोजन भएको छ, असोज महिनाको पहिलो साताभित्र काम सम्पन्न गर्ने गरी लागि परेका छौं, सूचना अधिकारी सुवेदीले भने ।’ ठेकदारले उक्त सडक मर्मतको लागि कार्यादेश पाउँने र तीव्र गतिमा काम अगाडि बढ्ने सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुवेदीले जानकारी दिए ।

साभार : तुलसीपुर अनलाइन

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे