राप्ती प्रेस मञ्चले बुझायो पाठकलाई ज्ञापनपत्र : सवै सञ्चार माध्यमलाई समान व्यवहार गर्न माग
भालुवाङ १५ वैशाख । राप्ती प्रेस मञ्चले प्रतिनिधि सभा सदस्य देवराज पाठकलाई ज्ञापनपत्र बुझाएको छ ।
मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारी र वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले संयुक्त रूपमा उक्त ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । राप्ती चेम्बर अफ कमर्स र राप्ती प्रेस मञ्चले मंगलवार राप्ती गाउँपालिका–५ सिसहनियाँमा दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य देवराज पाठकलाई स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा सो ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा पछिल्लो समय संघीय सरकारले सरकारी सूचना तथा विज्ञापनहरू मुख्यतः सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयले निजी सञ्चार माध्यमहरू धरासायी हुने खतरा बढेको उल्लेख गरिएको छ ।
ज्ञापनपत्र मार्फत मञ्चले उक्त निर्णय तत्काल फिर्ता लिन, निजी सञ्चार माध्यमलाई समान अवसर प्रदान गर्न तथा जनतालाई समयमै सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न माग गरेको छ । साथै, प्रेस स्वतन्त्रता र मिडियाको दिगोपनका लागि स्पष्ट नीति ल्याउन समेत आग्रह गरिएको छ । “निजी सञ्चार माध्यम कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन्छ,” ज्ञापनपत्रमा उल्लेख छ । सो अवसरमा बोल्दै राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीले सञ्चार क्षेत्रको वर्तमान अवस्था तथा निजी मिडियाले सामना गरिरहेका चुनौतीहरूबारे प्रकाश पारे । उनले सरकारी नीतिका कारण निजी सञ्चार माध्यमहरू आर्थिक रूपमा कमजोर बन्दै गएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सांसद पाठकले ज्ञापनपत्र ग्रहण गर्दै उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक लिने र सम्बन्धित निकायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उनले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण स्तम्भ भएको उल्लेख गर्दै यसको सुदृढीकरणका लागि आफू सकारात्मक रहेको बताए । राप्ती चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य देवराज पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले स्वागत दिएका थिए भने कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

