धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिकाे निर्देशन



धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिकाे निर्देशन

काठमाण्डौ ४ भदाै ।  संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रवार सिंहदरबारमा बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

सर्वोत्तम सिमेन्टको शेयर बोर्डका अध्यक्ष ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले परिवारका सदस्यको नाममा खरिद गरेर पदीय आचरण विपरीत काम गरेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराएको हो ।

नियामक निकाय आफैँले पदीय मर्यादा विपरीत शेयर कारोबार गरेकाले तत्काल छानबिन गरी उनीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

उहाँले भन्नुभयो, ‘नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले भित्री सूचनाका आधारमा गरेको भनिएको शेयर कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयबाट अध्ययन छानबिन भइरहेको जानकारी माननीय मन्त्रीज्यू र अर्थ सचिवज्यूबाट प्राप्त भएको छ । त्याे छानबिन यथाशीघ्र सम्पन्न गरी आवश्यक कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ ।’

बैठकले शेयर बजारको दिगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रको स्वच्छता, पारदर्शिता, सदाचारिता, नैतिकता साथै जिम्मेवार र जवाफदेहिता प्रवर्द्धन गर्न नीतिगत, कानुनी र संरचनागत व्यवस्था गरी समितिलाई जानकारी गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

बैठकमा समितिका सदस्यहरूले पुँजी बजारको नियामक निकायलाई स्वच्छ, जवाफदेही, पारदर्शी र विश्वासयोग्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग माग गरेका थिए । समितिकी सदस्य रामकुमारी झाँक्रीले नेपाल धितोपत्र बोर्ड र नेप्से जस्तो पुँजी बजारको नियामक निकायलाई पारदर्शी र जवाफदेही बनाउने गरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे । उनले बोर्ड र नेप्सेका पदाधिकारीलाई पदमा बहाल रहुन्जेल पुँजी बजारमा कारोबार गर्न नपाउने गरी कानुनी व्यवस्था गर्न ढिलाइ गर्न नहुनेमा पनि जोड दिए ।

समितिका सदस्य एवम् पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले शेयर बजारबाट अनुचित लाभ लिन नपाउने गरी आवश्यक कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले शेयर बजारमा सर्वसाधारणको विश्वास आर्जन गर्ने गरी नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न पनि सरकारले ढिलाइ गर्न नहुने बताए ।

समितिका सदस्य श्यामकुमार श्रेष्ठले पुँजी बजारभित्र देखिएका बेथितिको अन्त्य गर्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताए । उनले पुँजी बजारमा नियामक निकाय आफैँले कारोबार गर्न पाउन व्यवस्था उचित नभएकोतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए ।

बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री जनार्दन शर्माले नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा विपरीत काम गरेकोमा सरकारको ध्यान गएको स्पष्ट पार्दै उनीहरूमाथि आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले बोर्ड र नेप्सेका पदाधिकारीले अनुचित ढङ्गले परिवारका सदस्यको समेत शेेयर खरिद गरेको समाचार आएको उल्लेख गर्दै त्यसको सत्यता पत्ता लगाउन मन्त्रालयले छानबिनको कामलाई अन्तिम चरणका पुर्‍‍याएकाे पनि समितिलाई जानकारी दिए । अर्थ मन्त्री शर्माले सर्वसाधारणको विश्वास जित्ने गरी शेयर बजारलाई अघि बढाउन आफू प्रतिबद्ध रहेको पनि बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले पदीय मर्यादा विपरीत आफ्ना परिवारका सदस्यलाई सर्वोत्तम सिमेन्टको शेयर खरिद गराएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि अर्थ समितिले यस सम्बन्धमा सरोकारवाला निकायसँगको छलफललाई अघि बढाएको थियो ।

अर्थ मन्त्री शर्माले नियामक निकायबाटै शेयर बजारमा विकृति भित्र्याउने काम गरेको सुनिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मन्त्रीस्तरीय निर्णय गरेर छानबिनका लागि पाँच सदस्यीय समितिसमेत बनाएको बैठकमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे