पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाइमा रहेको वरिष्ठ नेता नेपालकाे भनाइ



पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाइमा रहेको वरिष्ठ नेता नेपालकाे भनाइ

काठमाण्डाै ३० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाइमा रहेको बताएका छन् । वरिष्ठ नेता नेपालले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान पनि राखे ।

शनिबार वाग्मती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि अझै पनि कोसिस गर्ने स्पष्ट पारे । निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरु तयार रहेको वरिष्ठ नेता नेपालको भनाइ छ ।

‘एकता हाम्रो चाहना हो, इच्छा हो । हाम्रो इच्छा र चाहना विभाजन होइन । तर एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हट्नु हुँदैन’ उनले भने, ‘तर त्यो अन्तिम उपाय मात्रै हुनेछ । अझै पनि कोसिस गरौं । अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं । केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी अन्तिम पर्खाइमा रहेका छौं ।’

वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको पनि स्मरण गराए । उनले संविधानको रक्षाका लागि, प्रतिगमन हुन नदिनका लागि, लोकतन्त्रको रक्षाका लागि आफूहरुले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासकाे मत दिनु परेको पनि दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे