दैलेखमा स्वास्थ्य चाैकीमा ताेडफाेड, ल्यापटपसहित मास्क र स्यानिटाइजर पनि चाेरी



दैलेखमा स्वास्थ्य चाैकीमा ताेडफाेड, ल्यापटपसहित मास्क र स्यानिटाइजर पनि चाेरी

दैलेख २० साउन । दैलेखकाे आठबीस नगरपालिका ५ पिपलकोटमा रहेकाे स्वास्थ्य चौकीमा तोडफोड गर्नुका साथै ल्यापटप र औषधिलगायतका सामग्री चोरी भएको छ । स्वास्थ्य चाैकीका इन्चार्ज जीवनकुमार बस्नेतले यसबारेमा जानकारी दिए ।

स्वास्थ्य चौकीको झ्याल फोडेर भित्र पसी तीन वटा ढोका फोडी सामग्री तोडफोड गर्नुका साथै चोरी गरेको इलाका प्रहरी कार्यालय राकमका इन्चार्ज एवम् प्रहरी नायब निरीक्षक (सई) पुष्प कडायतले बताउनुभयो । घटनामा संलग्नकाे बारेमा अहिलेसम्म जानकारी प्राप्त नभएकाे उनकाे भनाइ छ ।

स्वास्थ्य चौकीमा केही हप्ताअघि खरिद गरिएको ल्यापटप, सोलारका सामग्री, मास्क, स्यानिटाइजर, न्यानो झोलासमेत चोरी भएको आठबीस ५ का वडाध्यक्ष कर्णबहादुर आलेले जानकारी दिए ।

स्वास्थ्य चौकीको पाँच वटा दराज र तीन वटा टेबल तोडफोड हुँदा झन्डै तीन लाख रुपैयाँ बराबरको क्षति भएकाे बताइएको छ । स्वास्थ्य चौकीमा तीन जना अहेब, दुई जना अनमी, एक जना ल्याबका कर्मचारी र एक कार्यालय सहयोगी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे