साउनको अन्तिम हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी



साउनको अन्तिम हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी

काठमाण्डाै १८ साउन । यातायात व्यवस्था विभागले यही महिनाको अन्तिम हप्तादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । विद्यालय, विश्वविद्यालयलगायतको परीक्षा सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले यसबारे छलफल भइरहेको र छिटै निर्णय हुने जानकारी दिए । गएको वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो ।

अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुरिरहँदा कोरोनाको सङ्क्रमण बढेपछि फेरि ट्रायल परीक्षा बन्द गरिएको थियो । विभागले अहिले अनलाइन आवेदन पनि बन्द गरेको छ । ट्रायल परीक्षाको टुङ्गो लागेपछि फेरि अनलाइन आवेदन खुलाउने तयारी गरिएको विभागले जनाएको छ ।

ट्रायल परीक्षा खुलेपछि नयाँ व्यवस्था लागू गर्ने विभागको तयारी छ । अहिले विद्यमान लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अङ्क ल्याए मात्रै पास हुने व्यवस्थामा परिमार्जन गरेर ७० प्रतिशत अङ्क ल्याए पास हुने निर्णय यसअघि नै भइसकेको छ ।

नयाँ व्यवस्थाअनुसार ट्रायल परीक्षामा ट्राफिक लाइट, उकालो–ओरालो, स्पिड ब्रेकर, पार्किङलगायतलाई आधार मानेर अलग–अलग नम्बर दिइने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे