भारतीय एसएसबीले तुइन काटेकाे भनिएकाे घटना छानबिन गर्न समिति गठन



भारतीय एसएसबीले तुइन काटेकाे भनिएकाे घटना छानबिन गर्न समिति गठन

काठमाण्डाै १८ साउन । सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

गृह मन्त्रीस्तरीय निर्णयअनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्य/तथ्यसहित १० दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन् ।

यसैबीच गृह मन्त्री बालकृष्ण खाँडको उपस्थितिमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव महेश्वर न्यौपानेसहित तीन वटै सुरक्षा निकायका प्रमुखको सहभागितामा भएको बैठकमा कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे छलफल भएको छ ।

बैठकमा खोप व्यवस्थापन तथा नयाँ भेरियन्टसहितको तेस्रो लहरको सम्भावनालाई दृष्टिगत गरी सङ्क्रमण रोकथाम नियन्त्रण र उपचारका लागि तयारी अवस्थामा रहन तथा स्वास्थ्य संस्थाको सुदृढीकरण गर्न र स्वास्थ्य मापदण्डको पूर्ण पालनामा जोड दिइएको छ ।

बैठकले सबै सेवा प्रदायक निकायमा सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्र कार्यालयमा प्रवेश गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे