बुहारीमाथिको करणी मुद्धामा मिलापत्र गराउने वडा सदस्यसहित सात जना पक्राउ



बुहारीमाथिको करणी मुद्धामा मिलापत्र गराउने वडा सदस्यसहित सात जना पक्राउ

रोल्पा १० साउन । रोल्पामा बलात्कार घटनामा मिलापत्र गरेको आरोपमा वडा सदस्यसहित सात जना पक्राउ परेका छन् । जेठाजुबाट बुहारी बलात्कार भएको घटनालाई गाउँमै मिलापत्र गरेको आरोपमा लुंग्री गाउँपालिका–४ का वडा सदस्य हिमबहादुर विष्टसहित अन्य ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

पीडितको उजुरीको आधारमा बलात्कारको आरोपितसहित मिलापत्र गराउने स्थानीय दुर्गे विष्ट, नवीन विष्ट, पुस्त विष्ट, पुस्ते खड्का र पीडितका ससुरालाई पक्राउ परेका छन् । गएको साउन २ गते भएको घटनालाई पीडितका ससुराले वडा सदस्यलाई खबर गरेपछि वडा सदस्यले साउन ३ गते गाउँमा कटुवालमार्फत स्थानीय भद्र भलाद्मी बोलाएर २० हजारमा मिलापत्र गरेका थिए ।

जसमध्ये गाउँको कोषमा १५ हजार र पीडितलाई ५ हजार छुट्याउने भेलाले निर्णय गरेको थियो । पीडितलाई छुट्याइएको ५ हजार रुपैयाँबाट पनि १ हजार भलाद्मीलाई चिया खर्च र ५ सय ससुरालाई मान राख्ने भनेपछि पीडितले असन्तुष्टि जनाउँदै साउन ४ गते प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बलात्कार आरोपितलाई कसुर बमोजिम र अन्यलाई घटनाको मतियारको कसुर बमोजिम कानुनी कारबाही हुने डीएसपी सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे