नेपालगन्जबाट रेडपाण्डाको छाला र भालुको पित्त सहित दाङका ३ जना पक्राउ



नेपालगन्जबाट रेडपाण्डाको छाला र भालुको पित्त सहित दाङका ३ जना पक्राउ

दाङ २७ असार । प्रहरीले रेडपाण्डाको छाला र भालुको पित्त सहित दाङका तिन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिका १ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा दाङको घोराही ४ का ४९ बर्षिय भक्तबहादुर पुन, सोहि ठाउँका ४१ बर्षिय केशव पुन र शान्तीनगर १ का २९ बर्षिय रोबिन बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

गेष्ठ हाउसमा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराती पौने नौ बजे उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। उनका अनुसार उनीहरुले कालो झोलाभित्र सेतो कपडामा राखेको रेडपाण्डा (हाब्रे)को छाला एक थान र चार वटा भालुको पित्तजस्तो देखिने बस्तु बरामद गरिएको छ ।

उनीहरुलाई वन ऐन कसुर अनुसार कारवाही हुने प्रहरीले बताएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालयमा बुझाइएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे