प्यूठानकाे दर्भानमा साप्ताहिक हाटबजार शुरू, स्थानीय उत्पादनको बजारीकरणले अर्थतन्त्रलाई थप टेवा पुग्ने अपेक्षा



प्यूठानकाे दर्भानमा साप्ताहिक हाटबजार शुरू, स्थानीय उत्पादनको बजारीकरणले अर्थतन्त्रलाई थप टेवा पुग्ने अपेक्षा

भालुवाङ १३ असार । प्यूठानकाे सरुमारानी गाउँपालिका-२, दर्भानकाे बगालेमा आज शनिबार देखि साप्ताहिक हाट बजार शुरू भएकाे छ । हेफर इन्टरनेशनल नेपाल संगकाे साझेदारीमा सरूमारानी गाउँपालिकाले उक्त हाट बजार सञ्चालनमा ल्याएकाे हाे ।

हाट बजारकाे उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरे । हाट बजारकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादनको बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्न सक्ने बताए । उनले हाट बजारमा स्थानीय किसानले उत्पादन गरेका वस्तुलाई मात्रै प्राथमिकता दिनुपर्ने बताए ।

मुख्यमन्त्री आचार्यले भारतबाट आयात गरिएका तरकारी तथा अन्य कृषि उपज बिक्रीका लागि नराखी स्थानीय किसानले उत्पादन गरेका तरकारी, फलफूल, मह, घ्यू तथा अन्य कृषि उपज बिक्री गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारले कृषि क्षेत्रको यान्त्रिकीकरण, व्यवसायीकरण तथा अर्गानिक उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उहाँले किसानलाई व्यावसायिक र अर्गानिक खेतीतर्फ आकर्षित हुन आग्रह गरे ।

सरूमारानी गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्माकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री तथा प्रदेश सभा सदस्य तुलसीराम शर्माले यस क्षेत्रको कृषि विकासका लागि सिँचाइ सबैभन्दा ठूलो चुनौती रहेको बताउँदै राप्ती नदीको पानी लिफ्ट इरिगेसनमार्फत ल्याउन सके यस क्षेत्रको कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने धारणा राखे । उनले सिँचाइ पूर्वाधार विस्तारमा प्रदेश र संघीय सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

त्यस्तै कार्यक्रममा संविधान सभा सदस्य धनबहादुर रायमाझी ले किसानले आफ्ना उत्पादनको मूल्य आफैं निर्धारण गर्न सक्ने वातावरण सिर्जना हुनु सकारात्मक भएको उल्लेख गरे । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्वकर्माले स्थानीय कृषि तथा पशुजन्य उत्पादनलाई प्रवर्द्धन गर्दै त्यसलाई उद्यमसँग जोड्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । त्यस्तै हेफर इन्टरनेशनल नेपालका बरिस्ठ कार्यक्रम प्रबन्धक प्रकाश केसीले किसानलाई आत्मनिर्भर बनाउने, उत्पादनको बजारीकरण गर्ने र आयआर्जन वृद्धि गर्ने उद्देश्यले हाट बजार स्थापना गरिएको बताए ।

कार्यक्रममा कोसेली घर, संकलन केन्द्र र हाट बजारको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी सामाजिक उद्यमी सहकारी संस्थालाई हस्तान्तरण गरिएको छ । हाट बजार प्रत्येक शनिबार सञ्चालन हुने व्यवस्था गरिएको छ । यसबाट स्थानीय किसानले आफ्ना उत्पादन प्रत्यक्ष रूपमा उपभोक्ता सम्म पुर्‍याउने अवसर पाउने र कृषि उत्पादनको बजारीकरण सँगै ग्रामीण अर्थतन्त्रलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

हाट बजारमा दाङ, अर्घाखाँची, रोल्पा र गुल्मी सम्मका उपभोक्ताले सहज रूपमा किनमेल गर्न सक्ने उपयुक्त स्थानमा बताईएकाे छ । पालिकाका उपाध्यक्ष वसन्ता खड्काकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन हेफर इन्टरनेशनल नेपालका वेदराज पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे