कक्रहवाको चेकड्याम–किसानलाई बरदान
गढवा २७ असार । गढवा गाउँपालिका वडा नं. ५ स्थित कक्रहवा खोलामा चेक ड्याम बनेपछि यस बर्ष सिमलतारा गाउँको २७ बिगाह जमिनमा सिंचाई सुविधा पुगेको स्थानीयले बताएका छन् । लामो समय सिमलताराका किसानहरुलाई सिंचाइको समस्या थियो ।
गढवा गाउँपालिकाले लगातार २ बर्ष लापा कार्यक्रम संग साझेदारी गरेर पक्की कुलो र खोलामा चेक ड्याम्प बनाइ दिएपछि अहिले प्रयाप्त सिंचाई सेवा पुगेको छ– स्थानीय किसान तोयाराम पुनले बताए । सिमलतारामा पक्कि कुलो पुर्याउन र कक्रहवा खोलामा चेक ड्याम्प निर्माण गर्न संसद बिकास कोषको बजेटका लागि धेरै जोड गरेको तर बजेट नपरेपछि स्थानीयहरु गाउँपालिकामा धाउन थालेको स्थानीय सामाजिक अभियन्ता मोहन बुढाले बताए ।
गाउँपालिकाले पहिलो बर्ष नेपालमा जलवायु परिवर्तन सहयोग कार्यक्रम–१ संग सहकार्य गरेर पक्की कुलो बनाइदियो । कुलो मात्र बनेर सिंचाइको लागि पानी लैजान नसकिएपछि अर्को बर्ष खोलामा ठूलै चेकड्याम बनाउने योजनाकालागि पहल गर्यौं, अहिले सिमलतारामा प्रयाप्त सिंचाई सुविधा पुगेको छ– गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने । गाउँपालिकाको १३ लाख ६५ हजार र नेपालमा जलवायु परिवर्तन अनूकूलन परियोजना–२ को ४४ लाख गरि कुल ५७ लाख ६५ हजारको लागतमा कक्रहवा खोलामा सिमलतारा सिंचाई आयोजनाका लागि चेकड्याम्प तयार भएको गाउँपालिकाले जनाएको छ ।
कक्रहवा खोलामा चेकड्याम्प र पक्कि कूलो बनेपछि सिमलताराका किसानहरुका लागि बरदान भएको छ–स्थानीय तोयाराम पुनले भने । कुलो र बाँध बनेपछि हामीलाई सिंचाइको प्रयाप्त सुविधा भएको छ– स्थानीय किसानहरुले बताए । करिब ५२ घरधुरी रहेको सो बस्तीमा सिंचाई सुविधा नहुँदा खेतबारी बाँझै रहने समस्या थियो । अब यो समस्या हल भएको छ । सरकारले उक्त चेकड्याम्प संरक्षण गर्न प्रत्येक बर्ष थोरै भएपनि लगानी गरिरहोस–स्थानीय समाजसेवी मोहन बुढाले भन्नुभयो । सिमलतारा सिंचाई कुलो चेकड्याम्प निर्माण किसानका लागि बरदान सावित भएको छ ।
उक्त बाँधको उचाई ६ फिट चौडाई ६ मिटर र लम्बाई ३२.७ मिटर रहेको गढवा गाउँपालिकाको प्राबिधिक शाखाले जनाएको छ । झण्डै ६ मिटर अग्लो बाँधको माथीतिर गेगर पुरिएर समथर भएको छ,जहाँबाट सजिलै कुलोमा पानी लैजान सकिने भएको छ । यस अघि खोला निकै गहिरो बन्दा कुलोमा पानी जान सकेको थिएन । यसैबिच उक्त योजनाको शनिवार गढवा गाउँपालिकाले अनुगमन गरेको छ । उपाध्यक्ष शान्ती चौधरी,वडा अध्यक्ष प्रकाश भण्डारी, इन्जीनियर बिनय कुमार यादव, स.इन्जीनियर भरत केसी र पत्रकारहरु समेतको टोलीले स्थलगत अनुगमन गरेको हो ।

