कक्रहवाको चेकड्याम–किसानलाई बरदान



कक्रहवाको चेकड्याम–किसानलाई बरदान

गढवा २७ असार । गढवा गाउँपालिका वडा नं. ५ स्थित कक्रहवा खोलामा चेक ड्याम बनेपछि यस बर्ष सिमलतारा गाउँको २७ बिगाह जमिनमा सिंचाई सुविधा पुगेको स्थानीयले बताएका छन् । लामो समय सिमलताराका किसानहरुलाई सिंचाइको समस्या थियो ।गढवा गाउँपालिकाले लगातार २ बर्ष लापा कार्यक्रम संग साझेदारी गरेर पक्की कुलो र खोलामा चेक ड्याम्प बनाइ दिएपछि अहिले प्रयाप्त सिंचाई सेवा पुगेको छ– स्थानीय किसान तोयाराम पुनले बताए । सिमलतारामा पक्कि कुलो पुर्याउन र कक्रहवा खोलामा चेक ड्याम्प निर्माण गर्न संसद बिकास कोषको बजेटका लागि धेरै जोड गरेको तर बजेट नपरेपछि स्थानीयहरु गाउँपालिकामा धाउन थालेको स्थानीय सामाजिक अभियन्ता मोहन बुढाले बताए ।गाउँपालिकाले पहिलो बर्ष नेपालमा जलवायु परिवर्तन सहयोग कार्यक्रम–१ संग सहकार्य गरेर पक्की कुलो बनाइदियो । कुलो मात्र बनेर सिंचाइको लागि पानी लैजान नसकिएपछि अर्को बर्ष खोलामा ठूलै चेकड्याम बनाउने योजनाकालागि पहल गर्यौं, अहिले सिमलतारामा प्रयाप्त सिंचाई सुविधा पुगेको छ– गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने । गाउँपालिकाको १३ लाख ६५ हजार र नेपालमा जलवायु परिवर्तन अनूकूलन परियोजना–२ को ४४ लाख गरि कुल ५७ लाख ६५ हजारको लागतमा कक्रहवा खोलामा सिमलतारा सिंचाई आयोजनाका लागि चेकड्याम्प तयार भएको गाउँपालिकाले जनाएको छ ।

कक्रहवा खोलामा चेकड्याम्प र पक्कि कूलो बनेपछि सिमलताराका किसानहरुका लागि बरदान भएको छ–स्थानीय तोयाराम पुनले भने । कुलो र बाँध बनेपछि हामीलाई सिंचाइको प्रयाप्त सुविधा भएको छ– स्थानीय किसानहरुले बताए । करिब ५२ घरधुरी रहेको सो बस्तीमा सिंचाई सुविधा नहुँदा खेतबारी बाँझै रहने समस्या थियो । अब यो समस्या हल भएको छ । सरकारले उक्त चेकड्याम्प संरक्षण गर्न प्रत्येक बर्ष थोरै भएपनि लगानी गरिरहोस–स्थानीय समाजसेवी मोहन बुढाले भन्नुभयो । सिमलतारा सिंचाई कुलो चेकड्याम्प निर्माण किसानका लागि बरदान सावित भएको छ ।

उक्त बाँधको उचाई ६ फिट चौडाई ६ मिटर र लम्बाई ३२.७ मिटर रहेको गढवा गाउँपालिकाको प्राबिधिक शाखाले जनाएको छ । झण्डै ६ मिटर अग्लो बाँधको माथीतिर गेगर पुरिएर समथर भएको छ,जहाँबाट सजिलै कुलोमा पानी लैजान सकिने भएको छ । यस अघि खोला निकै गहिरो बन्दा कुलोमा पानी जान सकेको थिएन । यसैबिच उक्त योजनाको शनिवार गढवा गाउँपालिकाले अनुगमन गरेको छ । उपाध्यक्ष शान्ती चौधरी,वडा अध्यक्ष प्रकाश भण्डारी, इन्जीनियर बिनय कुमार यादव, स.इन्जीनियर भरत केसी र पत्रकारहरु समेतको टोलीले स्थलगत अनुगमन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे